काठमाडाै । न्यु डायमण्ड एकेडेमीले फ्रेन्चाईज महिला भलिवल लिग प्रतियोगिता आधीआवाधी खेल्ने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको आधीआवाधी महिला लिगमा न्यु डायमण्डले फ्रेन्चाईज क्लबको रुपमा प्रतियोगिता खेल्ने निश्चित भएको हो ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्दै राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा बलियो उपस्थिती जनाउदै आएको न्यु डायमण्डलाई आधीआवाधी महिला लिगमा सहभागि गराउने निर्णय गरिएको भलिवल संघका महासचिव जितेन्द्र चन्दले खेलपाटीलाई बताए ।
'उहाँहरुले खेल्ने इच्छा देखाउनुभयो । लामो समयदेखि महिला भलिवलमा सक्रिय न्युडायमण्डलाई प्रतियोगितामा सहभागि गराउने निर्णय गरेका छौ ।' उनले भने ।
नेपाल भलिवल संघ र आधीआवाधी महिला फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न सहरलाई फ्रेन्चाईज गरेर प्रतियोगिता सञ्चालन हुदैछ । प्रतियोगितामा तीन विभागीय सहित ६ टोलीले सहभागिता जनाउदैछन् ।
न्यु डायमण्डको प्रवेशसंगै प्रतियोगितामा अब काठमाडौं क्विन्स सहभागि हुने छैन । प्रतियोगितामा न्यु डायमण्ड सहित तीन विभाग र चितवन र पोखराको टोली सहभागि हुनेछन् । प्रत्येक टिममा ४ विदेशी खेलाडी राख्न पाउने र ३ खेलाडी कोर्टमा उतार्न पाईनेछ ।
न्यु डायमण्डकी म्यानेजर सुनकेशरी मालीले आफुहरुले आधीअवाधी लिग खेल्ने तय भएको बताउदै विदेशी खेलाडीको खोजिमा रहेको बताईन् । 'न्यु डायमण्डले समेत लिग खेल्ने तय भएको छ । हामी विदेशी खेलाडीको खोजिमा छौ । राम्रो विदेशी खेलाडी ल्याएर लिग जित्ने लक्ष्य छ ।' उनले भनिन् ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।