काठमाडौं । एशियन गेम्समा उत्कृष्ट प्रर्दशन गर्ने नेपालको राष्ट्रिय पुरुष भलिबल टिमलाई नगद सहित सम्मानित गरिएको छ । नेपाल भलिवल संघले आईतबार काठमाडौंमा कार्यक्रमको आयोजना गरेर एशियाडमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
ईन्डोनेशियामा भएको एशियाडमा नेपालको भलिवल टिमले उत्कृष्ट प्रर्दशन गर्दै १५ औ वरियता हासिल गर्न सफल भएको थियो । वरियताको भिडन्तमा नेपालले मंगोलियालाई पराजित गर्दै एशियाडमा पहिलो जित दर्ता गरेको थियो । अर्को खेलमा नेपाल श्रीलंकासंग पराजित भएको थियो । अन्तिममा कीर्गिस्तानले नखेल्दा नेपाललाई १५ औ वरियता प्राप्त भएको थियो ।
सहभागि २० देश मध्य १५ औ वरियता हासिल गर्न सफल खेलाडी तथा प्रशिक्षक व्यवस्थापकलाई भलिवल संघले नगद १० हजार सहित सम्मान ग¥यो ।
सम्मान कार्यक्रममा संघका महासचिव जितेन्द्र चन्दले नेपालको पुरुष भलिवल टिमले एशियाडमा उत्कृष्ट प्रर्दशन गरेको बताए । राष्ट्रकोलागि अन्तराष्ट्रिय एरिनामा गएर खेल्नु गौरवको कुरा हुने बताउदै महासचिव चन्दले नेपाली खेलाडीले आफुलाई एशियाडमा प्रमाणित गरेको उल्लेख गरे ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले भलिवल खेलाडीको प्रर्दशन र भलिवलले गरेको प्रगतिबाट आफु खुसी रहेको बताए । बजेट अभावले महिला खेलाडी एशियाडमा सहभागि गराउन नसकिएको उल्लेख गर्दै उनले राज्यले भलिवल संघलाई गर्दै आएको सहयोगमा रकम वृद्धि गर्ने प्रतिबद्धता जनाए ।
संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिवले प्राप्त गरेको उपलब्धिबाट आफुहरु खुसी रहेको बताउदै राखेपबाट थप सहयोगको अपेक्षा राखेको धारणा राखे ।