एजेन्सी । भारतको चर्चित लिग इण्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक कमाउने खेलाडीमा पुर्व कप्तान महेन्द्र सिंह धोनी शीर्ष स्थानमा रहेका छन् ।
इन्साइड स्पोर्ट्स मनी बलले सार्वजनिक गरेको रिपोर्टमा धोनीले हालसम्म आईपीएलबाट सर्वाधिक रकम कमाएको देखिएकाे छ ।
धोनीले हालसम्म १ सय ३७ करोड आईपीएलबाट कमाएको रिपोर्टमा देखिएकाे हाे ।
धाेनीले कमाएको रकममा उनले पाएका आईपीएलका व्यक्तिगत अवार्ड (म्यान अफ द म्याच) तथा अन्य अवार्ड समावेश गरिएको छैन । उनले पाएको अवार्ड जोड्दा थप ठुलो रकम हुने देखिन्छ ।
रिपोर्टमा धोनीले कमाएको हरेक संस्करणको रकम सार्वजनिक गरिएको छ ।
रिपोर्ट अनुसार चेन्नई सुपर किङ्ग्सका कप्तान धोनीले सन् २००८ देखि २०१० मा ६ करोड कमाएको बताइएको छ ।
यस्तै, सन् २०११ देखी २०१३ सम्म उनले हरेक वर्ष ८ दशमलब २ करोड आईपीएलबाट कमाएका छन् ।
सन् २०१४ मा भारतीय क्रिकेट बोर्डले पहिलो रोजाइका खेलाडिकाे रिटेन्सन फिस बढाएपछि १२ दशमलब ५ करोड पाउन थालेका थिए । उनले सन् २०१४ र २०१५ मा चेन्नईमा रहँदा साे रकम पाए । त्यसपछी उनी पुने सुपरजाइण्टमा दुई वर्ष रहँदा समेत साेही रकम पाएका थिए ।
सन् २०१८ मा पुन: रिटेन्सन फिस बढेपछि पछिल्लो तीन संस्करणमा धोनीले ४५ करोड कमाएका छन् ।
यस्तै, मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा आईपीएलबाट सर्वाधिक कमाउने खेलाडीको सुचिकाे दोस्रो स्थानमा रहेका छन् । उनले आईपीएलबाट १ सय ३१ करोड कमाएका छन् ।
भारतीय कप्तान विराट कोहली यस सुचिमा तेस्रो स्थानमा रहेका छन् । उनले आईपीएलबाट हालसम १ सय २६ करोड कमाएका छन् ।
रिपोर्टमा रोहित र विराटले कमाएको आईपीएलको रकममा समेत उनीहरुले पाएकाे व्यक्तिगत अवार्ड समावेश गरिएको छैन ।