काठमाडौँ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्धेश्यले स्टार क्रिकेट २०२१ नामक प्रतियोगिता आयोजना हुने भएको छ ।
‘निर्माणका लागि खेलौ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी र स्टार कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।
खेल आउँदो माघ २४ गते आयोजना गरिने बताईएको छ ।
गृष्मा ब्रोडकास्टिङको आयोजनाको जिम्मेवारी लिएको प्रतियोगितामा धुर्मुससुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य पनि हुनेछ ।
च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र लोकप्रिय र चर्चित कलाकारको सहभागिता रहने छ ।
भरतपुरमा निर्माणाधीन रंगशाला निर्माण अभियानमा सहयोग गर्ने लक्ष्य सहित मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले बताएको छ ।
राष्ट्रिय क्रिकेट टिमबाट पारस खड्का सहितका खेलाडीहरु मैदान उत्रनेछन् भने कताकारतर्फ सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल र नरेश पौडेल लगायत रहनेछन् ।
चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने योजना अनुसार धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको काम गर्दै आएको छ ।
आर्थिक अभावका बीच फाउण्डेशनले रंगशाला निर्माण कार्य तिब्र गति अघि बढाउँदै आएको छ । प्यारापिटतर्फ सबै स्ट्याङ्को पिल्लर उठाउने काम सकिएको छ । यस्तै, मुख्य मैदानको काम समेत ८५ प्रतिशत पुरा भएको छ । मुख्य मैदानमा ७ वटा अन्तराष्ट्रिय पिच हुने बताईएको छ ।