एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल इंग्ल्यान्डको लर्ड्समा नहुने सम्भावना बढेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्सबाट सार्ने तयारी गरेको छ ।
इंग्ल्यान्ड एण्ड वेस्ल क्रिकेट बोर्ड (ईसीबी) सँगको आर्थिक सम्झौताको अभावको कारण आईसीसीले लर्ड्सको विकल्प खोजेको हो ।
तर, आईसीसी र ईसीबीबीच वार्ता जारी रहेको बताइएको छ ।
'वास्तवमा हामीले जुन १० देखि १४ सम्म लर्ड्समा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल भेन्यु सरेको देखेका छौं । छिट्टै यसको निष्कर्ष आउने छ,' एएनआईले स्रोत उल्लेख गर्दै लेखेको छ, 'तर यहाँ केही आर्थिक मुद्दाहरु छन् जुन सामाधान हुनुपर्ने छ यदि फाइनल तोकिएको स्थानमा हुने हो भने । अहिलेको अवस्थामा मैले भन्न सक्ने भनेको फाइनल भेन्युमा कालो बादल छाएको छ ।'
कोरोना भाईरसको महामारीको कारण विश्व टेस्ट च्याम्पियनसिपले थुप्रै समस्या भोग्दै आएको छ । महामारीको कारण थुप्रै सिरिजहरु स्थगित समेत हुँदै आएको छ ।
यस्तै आईसीसीले टेस्ट च्याम्पियनसिपमा असर गरेको भन्दै अंक प्रणाली समेत परिमार्जन गरेको छ ।
टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया ३ सिरिजमा १० टेस्ट खेल्दै ७ जितका साथ २ सय ९६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
भारत ४ सिरिजमा ९ खेल खेल्दै ७ जित निकाल्दा ३ सय ६० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
बिहीबारको बैठकले च्याम्पियनसिपमा राष्ट्रको स्थान प्राप्त अंकबाट नभएर राष्ट्रले अंक प्राप्त गर्ने प्रतिशतको आधारमा गराउने निर्णय गरेको थियो ।
त्यसैले ८२ दशमलब २ प्रतिशत पाएको अष्ट्रेलिया ७५ प्रतिशत रहेको भारत भन्दा अगाडी रहेको हो ।