काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तिहार अघि नै राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजर पदका लागि अन्तर्वार्ता लिने भएको छ ।
क्यानको शुक्रबार बसेको बोर्ड बैठकले तिहार अघि नै मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजर पदका लागि अन्तर्वार्ता लिने निर्णय गरेको हो ।
क्यानले अन्य पदहरुको अन्तर्वार्ता भने तिहार पछि गरिने जनाएको छ ।
क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो ।
क्यानले २० दिनको म्याद राखेर आह्वान गरेको दरखास्तमा ७७ जना प्रशिक्षकले आवेदन दिएका थिए ।
यस्तै क्यानले अन्तर्वार्ताका लागि छनोट हुने प्रशिक्षकको सूची समेत तयार गरिसकेको छ । क्यानले अन्तर्वार्तामा छनोट हुने प्रशिक्षकको सूची अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई समेत पठाईसकेको छ ।
क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।
गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिजपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । तत्कालिन प्रशिक्षक पटवालले राजीनामा दिएर स्वदेश फर्किएसँगै राष्ट्रिय टिम प्रशिक्षक विहीन भएको हो ।