एजेन्सी । न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिज क्रिकेट टिमलाई प्रशिक्षणमा प्रतिबन्ध लगाईएको छ ।
'कोरोना प्रोटोकल' तोडेपछि न्युजिल्याण्डले वेस्ट इन्डिजको प्रशिक्षणलाई रोक लगाएको हो ।
न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एक होटलमा वेस्ट इन्डिजका खेलाडीहरु क्वारेन्टिनमा रहेका छन् ।
वेस्ट इन्डिजका खेलाडीहरु १२ औं दिनको क्वारेन्टिनमा रहेका थिए ।
तर, होटलमा रहदा उनीहरुले क्वारेन्टिन नियम उलंघन गरेको बताईएको छ ।
'खेलाडीहरुले बारम्बार क्वारेन्टिन नियम उलंघन गरेका छन्,' स्वास्थ्य विभागका महानिर्देशक एशले ब्लूमफिल्डले भनेका छन्, 'एक स्टाफले त्यसको उजुरी गरेका थिए र सीसीटीभीमा समेत प्रस्ट देखिएको छ ।'
खेलाडीहरुले समूहमा रहदै आफ्नो खाना साटासाट गरेको बताइएको छ ।
सबै खेलाडीहरुमा कोरोना नेगेटिभ आएमा वेस्ट इन्डिजले शुक्रबार न्युजिल्याण्डको 'ए' टिमसँग अभ्यास खेल खेल्ने तालिका रहेको थियो ।
न्युजिल्याण्ड र वेस्ट इन्डिजबीच ३ खेलको टी-ट्वान्टी र २ खेलको टेस्ट सिरिज हुनेछ ।
दुई टिमबीचको पहिलो टी-ट्वान्टी नोभेम्बर २७ मा हुनेछ ।