एजेन्सी । भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको छ ।
बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।
आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने गरेका छन् । तर, १४ औं संस्करणमा टिम संख्या बढाउने तयारी गरिएको हिन्दुले जनाएको छ ।
यस्तै आगामी सिजनको लागि नयाँ अक्सन गराउने समेत बीसीसीआईले तयारी गरेको छ ।
'क्रिकेट बोर्ड (बीसीसीआई) को तयारी आउने संस्करणमा ९ टिम खेलाउने छ,' बीसीसीआई एक अधिकारीले भनेका छन्, 'त्यसको लागि अक्सन वर्षको सुरुवातमा हुनेछ ।'
कोरोना महामारीको कारण १३ औं संकरणको आईपीएल युएईमा भएको थियो । तर, आगामी सिजन भने भारतमै आयोजना हुने बताईएको छ ।
दुबईमा मंगलबार सम्पन्न १३ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।
मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि उचालेको हो ।