काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने नेपाल फर्किएर मात्र बिग बास लिगका लागि अष्ट्रेलिया जाने भएका छन् ।
इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईमा रहेका सन्दीप नेपालमा केहि साता बसेर अष्ट्रेलिया जाने भएका हुन् ।
सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले लामो समय परिवारबाट टाढा रहेको कारण सन्दीप नेपाल आएर अष्ट्रेलिया जाने खेलपाटीलाई जानकारी दिए ।
'सन्दीप विदेशी लिगमा व्यस्त भएको लामो समय भयो । त्यसैले केही समय परिवारसँग बिताउने बताएका छन्,' रमनले खेलपाटीसँग भने, 'सन्दीप आज बेलुका वा भोली बिहानसम्म नेपाल आइपुग्ने छन् । करिब २० दिन नेपाल बसेर अष्ट्रेलिया जान्छन् होला । बिग बासको टिमसँग कुरा भईरहेको छ ।'
बिग बासमा सन्दीपले खेल्ने टिम अझै तय भएको छैन । सन्दीप अनुबन्धका लागि थुप्रै क्लबले चासो देखाएपनि औपचारिक सम्झौता भएको छैन ।
तर, सन्दीपका व्यवस्थापक रमनले चाडै सन्दीपको टिम तय हुने बताए । यस अघि सन्दीपले मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
गत भदौमा वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनीडाड एण्ड टोबागो गएका सन्दीप उतैबाट आईपीएलको लागि युएई गएका थिए ।
सन्दीप आबद्द टिम दिल्ली क्यापिटल्स मंगलबार भएको फाइनलमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली ५ विकेटले पराजित भएको थियो ।
तर, सन्दीपले यस सिजनको आईपीएलमा मैदान उत्रने मौका पाएनन् ।
लगातार तेस्रो सिजन दिल्लीबाट आईपीएल खेलेका सन्दीप पहिलो पटक एक खेल नखेली घर फर्किनु परेको हो ।