काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साताबाट क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षणको अनुमति दिएपछि क्यान प्रशिक्षणको तयारीमा जुटेको हो ।
राखेपबाट प्रशिक्षणको अनुमति पाएको र छठपछि अभ्यास सुरु गराउने तयारी भईरहेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी गराए ।
'राखेपले प्रशिक्षणको लागि अनुमति दिएको छ । त्यसै अनुरुप हामीले मंसिर १० गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीमा जुटेका छौं,' अध्यक्ष चन्दले खेलपाटीसंग भने ।
कोरोना भाईरसको महामारीको कारण करिब ८ महिनाबाट क्रिकेट टिमका खेलाडीले सामूहिक अभ्यास गर्न पाएका छैनन् ।
तर, सरकार, राखेप र आईसीसीको प्रोटोकल पालना गर्दै क्यानले खेलाडीलाई मंसिरबाट अभ्यासमा फर्काउने तयारी गरेको छ ।
काठमाडौं बाहिर र काठमाडौंमै रहेका खेलाडीको पीसीआर परिक्षण गरेपछि प्रशिक्षणमा सामेल गराईनेछ।
क्यानले खेलाडी, प्रशिक्षक टिम, मैदानका कामदार, बसका चालक र भान्साको टिम सबैलाई एकै ठाउमा राखिने जनाएको छ ।
'खेलाडी लगायत प्रशिक्षक टोली, ग्राउण्ड स्टाफहरु सबैलाई मैदानमा खाने बस्ने व्यवस्था छ । यदि केही समस्या पर्छ भने खेलाडी, प्रशिक्षकलाई होटल वा गेष्ट हाउसमा समेत राख्न सकिन्छ,' चन्दले भने, 'महामारीको समय खतरा छ , प्रोटोकल पालना गरेर अभ्यास गराउने हो ।'
यस अघि क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको थियो । त्रिवि मैदान कीर्तिपुरमा क्वारेन्टिन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी क्यानले अघि बढाएको थियो ।
तर, कोरोना संक्रमितको संख्या पुन: फैलिन थालेपछि क्यानले प्रशिक्षण तत्काललाई स्थगित गरेको थियो ।
यस अघिको तयारीको कारण खेलाडीलाई प्रशिक्षणमा फर्काउन सहज हुने देखिएको छ ।
'बस्ने व्यवस्था मैदानमा नै छ । सबै बेडहरु ल्याएर राखेका थियौं । अब खासै समस्या छैन, एक दुई दिनमा सबै मिलिहाल्छ,' चन्द भन्छन्, 'अब खेलाडी बोलाउने, पीसीआर गराउने राख्ने काम बाँकी हो । अनुमति १० गतेबाट सुरु गर्ने भनेर पाएका छौं । एक दुई दिन यता उता हुन सक्छ ।'
क्यानले प्रशिक्षणका लागि २४ भन्दा बढी खेलाडी बोलाउने तयारी गरेको छ ।
'खेलाडी २४ भन्दा बढी बोलाउँछौं । टेक्निकल कमिटी छ कति खेलाडी बोलाउने कमिटीले निर्धारण गर्छ । २४ देखी २६ खेलाडी ल्याउने हाम्रो लक्ष्य छ,' चन्दले भने ।
अध्यक्ष चन्दले यस वर्ष नेपालको अन्तराष्ट्रिय खेल तालिका नरहेको समेत जानकारी गराए ।
'यस वर्ष नेपालको कुनै अन्तराष्ट्रिय खेल तालिका छैन । तर, हामी वर्षको अन्तिममा, डिसेम्बर अन्तिम वा जनवरीमा मैत्रीपूर्ण खेलको लागि आह्वान गरेका छौं । एकदिवसीय होस् या टी-ट्वान्टी । मैत्रीपूर्ण खेलका लागि कुरा चलिरहेको छ ।'
नेपालले गत मार्चमा थाइल्याण्डमा एसीसी एस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगिता खेलेपछि कुनैपनि खेलेको छैन । यस्तै सरकारले चैतबाट लकडाउन घोषणा गरेपछि टिमको सामुहिक प्रशिक्षण समेत भएको छैन ।