एजेन्सी । भ्रमणकारी टिम जिम्बावेले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टिम पाकिस्तानलाई पराजित गरेको छ ।
रावलपिन्डीमा मंगलबार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो ।
जिम्बावेले दिएको २ सय ७९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा पाकिस्तानले २ विकेट गुमाएर २ रन बनायो । उक्त लक्ष्य जिम्बावेले ३ बलमा पुरा गर्यो ।
सुपर ओभर अघि पाकिस्तानका कप्तान बाबर आजमले १ सय २५ रनको शतकीय इनिङ्स खेले । यस्तै वाहब रियाजले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा खुशदिल शाहले ३३ रन बनाए ।
जिम्बावेका ब्लिसीङ मुजराबानीले ५ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
जिम्बावेका लागि सिन विलियम्सले अविजित रहदै १ सय १८ रनको शतकीय इनिङ्स खेले । विलियम्सको यो चौंथो एकदिवसीय शतक हो ।
यस्तै ब्रेन्डन टेलरले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । शिकन्दर राजाले ४५ रन जोड्दा वेस्ली माधिभेरेले ३३ रन बनाए ।
पाकिस्तानका मोहमद हस्नैन एक्लैले ५ विकेट लिए । वाहब रियाजले १ विकेट लिए ।
अन्तिम खेलमा पराजित भएपनि पाकिस्तानले आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको ३ खेलको सिरिज २-१ ले जितेको छ ।
अब पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।