एजेन्सी । घरेलु टिम पाकिस्तानले जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
रावलपिन्डीमा आइतबार भएको दोस्रो खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
जिम्बावेले दिएको २ सय ७ रनको लक्ष्य पाकिस्तानले ३५ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै इमाम उल हकले ४९ रन जोड्दा हैदर अलीले २९ रन बनाए । अबिद अली २२ रनमा आउट हुँदा इफ्तिखर अहमेदले अविजित १६ रन जोडे ।
जिम्बावेका टेण्डाइ चिसिरोले २ विकेट लिए । सिन विलियम्स र सिकन्दर राजाले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय ६ रन बनाएको थियो ।
जिम्बावेका सिन विलियम्सले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा ब्रेन्डन टेलरले ३६ रन बनाए । ब्रियन चारीले २५ रन जोडे ।
जिम्बावेलाई सस्तैमा समेट्न पाकिस्तानका इफ्तिखर अहमेद एक्लैले ५ विकेट लिए । मुहमद मुसाले २ विकेट लिए ।
यो जितसँगै आईसीसी विश्वकप सुपर लिग अन्तर्गतको सिरिजमा पाकिस्तानले २-० को अग्रता समेत बनाएको छ ।
दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय मंगलबार हुनेछ ।
एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।