एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कोलकाता र राजस्थानले लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । कोलकाता र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाता र राजस्थान जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
दुबै टिमको प्ले अफ पुग्ने सम्भावना रहेको छ । तर, दुबै टिमलाई फराकिलो जितको आवश्यकता रहेको छ ।
अघिल्लो भेटमा कोलकाताले राजस्थानलाई ३७ रनले हराएको थियो । कोलकाता त्यस जितलाई निरन्तरता दिन चाहन्छ ।
राजस्थान भने कोलकातासँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
राजस्थान १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । कोलकाता समान खेलबाट समान अंकसहित सातौं स्थानमा रहेको छ ।
यस्तोमा दुबै टिम अन्तिम खेल जित्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ । तर, दुबै टिमलाई जितले मात्र पुग्ने छैन ।
प्ले अफ पुग्न दुबै टोलीका लागि अन्य खेलको नतिजामा समेत निर्भर हुनु पर्नेछ ।
यदी किङ्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबाद अन्तिम खेलमा पराजित भएमा कोलकाता र राजस्थानको विजेतालाई प्ले अफ पुग्न सहज हुनेछ ।
लिग चरणको अन्तिम खेल बाँकी रहदासम्म एक टिमले मात्र प्ले अफमा स्थान बनाउँन सफल भएको छ ।
मुम्बई इण्डियन्स प्ले अफमा पुगिसकेको छ । यस्तै चेन्नई सुपर किङ्स प्ले अफ होडबाट बाहिरिसकेको छन् ।
अब ६ टिम मध्ये ३ टिमले प्ले अफमा स्थान बनाउने छन् ।