एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने पहिलो खेलमा किङ्स इलाभेन पन्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
लिग चरणको अन्तिम खेलमा पन्जाब र चेन्नई भिड्न लागेका हुन् । आबुधाबीमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
प्ले अफ दौडमा रहेका पन्जाबका लागि यस खेल महत्वपूर्ण रहेको छ । प्ले अफ सम्भावना कायम राख्न पन्जाबलाई चेन्नईविरुद्ध जितको विकल्प छैन ।
केएल राहुलको कप्तानीमा पन्जाब १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएमा पन्जाब १४ अंक जोडेर शीर्ष चारमा उक्लनेछ ।
नेट रन रेट राम्रो भएको कारण पन्जाबको प्ले अफ सम्भावना बलियो रहेको छ । तर, पन्जाबलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने हुन्छ ।
त्यसैले पन्जाब चेन्नईविरुद्ध दबाबमा हुनेछ । यस्तै अघिल्लो भेटमा व्यहोरेको हारको कारण पनि पन्जाब चेन्नईविरुद्ध सतर्क भएर खेल्नेछ ।
पहिलो भेटमा चेन्नईले पन्जाबलाई १० विकेटले हराएको थियो ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई यस खेलको महत्व छैन । प्ले अफ होडबाट बाहिरिसकेको चेन्नईका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
तर, चेन्नई अन्तिम खेल जित्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । चेन्नईले १३ खेलमा १० अंक जोडेर पुछारमा रहेको छ ।