एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) ले किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना गरेको छ ।
युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै गेललाई जरिवाना गरिएको हो ।
आईपीएलले शनिबार आईपीएलको नियम उलंघन गरेको भन्दै गेललाई म्याच फिको १० प्रतिशत जरिवाना गरिएको जनाएको छ ।
राजस्थानविरुद्धको खेलमा ९९ रनमा आउट भएपछि गेलले ब्याट भुईमा फालेका थिए । शतक बनाउन एक रनले चुकेका उनलाई जोफ्रा आर्चरले आउट गरेका थिए ।
पन्जाबले राजस्थानविरुद्धको उक्त खेल ७ विकेटले गुमाएको थियो ।
राजस्थानविरुद्ध शतक बनाउन चुकेपनि गेलले १ हजार छक्काको कोशेढुंगा पुरा गरेका थिए ।
वेस्ट इन्डिजका गेल टी-ट्वान्टी क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् ।