एजेन्सी । चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।
दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे । अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जितका हुन् ।
अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक थियो । बलिङमा थिए कमलेश नगरकोटी ।
पहिलो बलमा करणले रन जोड्न सकेनन् । तर, करणले दोस्रो बलमा २ र तेस्रो बलमा १ रन जोडे । चौंथो बलमा जडेजाले रन जोड्न सकेनन् । तर, जडेजाले पाँचौ र छैटौं बलमा छक्का प्रहार गर्दै चेन्नईलाई अन्तिम बलमा जित दिलाए ।
यस्तै अम्बाती रायडुले ३८ रन जोड्दा सेन वाट्सनले १४ रन बनाए ।
कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
कोलकाताका लागि नितिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
यस्तै शुबमन गिलले २६ रन जोड्दा दिनेश कार्तिकले अविजित २१ रन बनाए ।
कप्तान इयान मोर्गनले १५ रन जोड्दा रिन्कु सिंहले ११ र सुनिल नारिनले ७ रन जोडे ।
चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो ।
जितसँगै चेन्नईले कोलकातासँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो ।
जितसँगै चेन्नईले १३ खेलमा १० अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।
कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ । कोलकाता पाँचौं स्थानमा रहेको छ ।