एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
कोलकाताले आफ्नो १३ औं खेलमा चेन्नईसँग दुबईमा खेल्नेछ । कोलकाता र चेन्नईबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाता सातौं जितको खोजीमा हुनेछ । कोलकाता १२ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ ।
इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता चेन्नईलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ ।
चेन्नईलाई पराजित गर्न सके कोलकाता लिगको शीर्ष चार भित्र उक्लने छ ।
तर, चेन्नईविरुद्ध जित निकाल्न कोलकातालाई सहज हुने छैन ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई कोलकातालाई हराएर पाँचौ जित निकाल्न चाहन्छ ।
तर, चेन्नईलाई यस खेल खासै महत्वपूर्ण रहेको छैन । किनकी चेन्नई प्रतियोगिताको प्ले अफ होडबाट बाहिरिसकेको छ ।
कोलकातासँगको खेल चेन्नईका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
चेन्नई १२ खेलमा ८ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै चेन्नई कोलकाताविरुद्ध जित निकाल्दै अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो ।