एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा खराब लयबाट गुज्रिरहेको चेन्नई सुपर किंग्सलाई ठुलो झड्का लागेको छ ।
चोटका कारण मुख्य खेलाडी डायन ब्राभो प्रतियोगिताबाट बाहिरिएका छन् ।
चेन्नई सुपर किंग्सका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले यस बिषयको पुष्टि गरेका हुन् ।
दिल्ली क्यापिटल्सविरुद्धको खेलमा चोट बोकेका उनले अन्तिम ओभरमा समेत बलिङ गरेका थिएनन् । कप्तान धोनीले ब्राभोको स्थानमा रबिन्द्र जडेजालाई अन्तिम ओभर बलिङ गर्न लगाएका थिए ।
चोटका कारण ब्राभो अब सिधै घर फर्कने बताईएको छ । आईपीएलको तालिकामा चेन्नई अन्तिममा छ । चेन्नईले अब मात्र चार खेल खेल्न बाँकी छ ।
ब्राभो बाहिरिएसंगै चेन्नईको पुरा टिमको सन्तुलन बिग्रिएको छ । एकातर्फ टिमका खेलाडीले राम्रो प्रर्दशन गर्न सकिरहेका छैनन् भने ब्राभो जस्ता खेलाडीले प्रतियोगिता गुमाउँदा चेन्नई थप समस्यामा परेको छ ।
प्रतियोगिताको सुरुवातमा हरभजन सिंह र सुरेश रैनाले प्रतियोगिता खेल्न अस्विकार गरिदिएका थिए ।
ब्राभो टिमबाट बाहिरिएसंगै इमरान ताहिरले चेन्नइबाट मैदान उत्रन सक्नेछन् । यस सिजन ताहिरले एक खेल पनि खेल्न पाएका छैनन् । पछिल्लो समय सामाजिक सञ्जालमा ताहिरलाई खेलाउनुपर्ने माग जोडले उठ्ने गरेको छ ।