काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीबीच सहकार्य गर्ने समझदारी बनेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत दुवै पक्ष आफ्ना कार्यक्रमलाई संगसंगै अघि बढाउन सहमत भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र युएनडीपीका राष्ट्रिय निर्देशक रेनो मेयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार एन्फाले फुटबल खेलको माध्यमबाट युएनडीपीको विभिन्न कार्यक्रमलाई अघि बढाउनेछ ।
एन्फा प्रवक्ता किरण राईले सामाजिक उत्तरदायित्व अन्तर्गत युएनडीपीका कार्यक्रममा संगसंगै अघि बढ्ने सहमती भएको खेलपाटीलाई बताए ।
युएनडीपीले समान शिक्षा, लैङ्गिक समानता, स्वच्छ खानेपानी र राम्रो स्वास्थ्य लगायतका विभिन्न १७ कार्यक्रम नेपालभर सञ्चालन गरिरहेको छ ।
प्रवक्ता राईका अनुसार युएनडीपीका कार्यक्रममा एन्फाले फुटबलको माध्यमबाट ती कार्यक्रमलाई सहज रुपमा देशभर फैलाउन मदत गर्नेछ ।