काठमाडौं । राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाईरसबाट मुक्त भएका छन् ।
कोरोना भाईरसको संक्रमण देखिएको २४ दिनपछि प्रशिक्षक थापा कोरोना मुक्त भएका हुन् ।
थापाले सामाजिक संजाल फेसबुकबाट आफु कोरोना मुक्त भएको बताएका छन् ।
'अन्ततः आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर, अझै केहि दिन सेल्फ क्वारेन्टिनमा रहने छु,' थापाले फेसबुकमा लेखेका छन्,'मेरो स्वास्थ्य लाभको आशिर्वाद र पार्थनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता व्यक्त गर्न चाहन्छु ।'
थापालाई गत साउन २५ गते कोरोना पोजिटिभ देखिएको थियो । तर, उनलाई कुनै लक्षण भने देखिएको थिएन ।
कोरोना देखिएपछि उनी सातदोबाटोस्थित स्क्वास भवनमा सेल्फ आइसोलेसनमा बसेका थिए ।
संघकै उपाध्यक्ष मनोज बहादुर श्रेष्ठलाई कोरोना देखिएसँगै कन्टयाक ट्रेसिङमा परेका थापालाई कोरोना पुष्टि भएको थियो ।
हिरा २०६० साल यता राखेपमा कार्यरत छन् । पूर्व च्याम्पियन समेत रहेका उनी राखेपका करार प्रशिक्षक हुन् ।
हिराको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगितामा दुई कास्य जितेका थियो । टिम प्रतिस्पर्धातर्फ महिला र पुरुष दुवै टिमले नेपाललाई कास्य पटक जिताएका थिए ।