एजेन्सी । अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा खेलाडीले खेल बहिष्कार गरेपछि लगातार दोस्रो दिन बास्केटबलको एनबीए लगायतका विभिन्न प्रतियोगिता स्थगित गरिएको छ ।
खेलाडीले खेल बहिष्कार गरेपछि एनबीएसहित महिलाको बास्केटबल लिग, बेसबलको एमएलबी, नेसनल हक्की लिग लगायतका प्रतियोगिता स्थगित भएको हो ।
खेलाडीको विरोधको कारण एनबीएको ३ प्ले अफ खेलहरु बुधबारबाट स्थगित गरिएको छ ।
एमएलबीको थप तीन खेल स्थगित गरिएको छ ।
हक्कीको बिहीबार र शुक्रबार तय भएको खेल स्थगित गरिएको छ ।
अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए ।
जसको विरोधमा अमेरिकामा जारी खेलकुदका ठुला प्रतियोगिताहरु स्थगित गरिएको हो ।
प्रहरीको गोलीबाट घाइते भएका २९ वर्षीय ब्लेकको उपचार भईरहेको छ ।
उनलाई गोली प्रहार गर्नुको कारण भने खुलेको छैन । तर, ब्लेकलाई प्रहरीले कयौं पटक गोली प्रहार गरेको भिडियो अहिले भाईरल बनेको छ ।
ब्लेकलाई गोली प्रहारको विरोधमा अमेरिकामा प्रदर्शन समेत चर्किएको छ ।