काठमाडौं । नेपाल एथ्लेटिक्स संघले कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातिय विभेद सहित कुटपिट गर्नेलाई कडा सजायको माग गरेको छ ।
संघका अध्यक्ष राजीव विक्रम शाहले बुधबार बिज्ञप्ती जारी गरि घटनाको घोर भत्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गरेका हुन् ।
सोमबार राति झापाको मेचिनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकला सहित उनका श्रीमान सुमन खातीमाथि आक्रमण भएको थियो ।
स्थानीय छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विण्णुको कुटाईबाट चन्द्रकला घाईते भएकी छिन् ।
श्रेष्ठ दाम्पत्तीले चन्द्रकला र उनका श्रीमानलाई जातिय विभेदयुक्त शब्द सहित गाली गलौज गर्दै आक्रमण गरेका थिए । घाईते चन्द्रकलाको अवस्था गम्भिर बनेपछि उनको बीएन्डसी अस्पतालमा उपचार भईरहेको छ । उनी ७ महिनाकी गर्भवती छिन् ।
नेपाल पुलिसकी खेलाडी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिईन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी थिईन् । उनले नौं महिना अघिमात्र विवाह गरेकी हुन् ।
जातीय विभेद सहित गाली गलौज गरेका श्रेष्ठ दाम्पत्तीलाई धुलाबारीस्थित ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उनीहरुमाथि पाँच दिनको म्याथ थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
एथ्लेटिक्स संघका अध्यक्ष शाहले चन्द्रकलाको स्वास्थ्यपचार लागि संघका तर्फबाट २१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
अहिले चन्द्रकला र उनको पेटमा रहेको बच्चाको अवस्था ठिक रहेको चिकित्सकले बताएका छन् । बुधबारमात्र संघका केन्द्रिय सदस्य कुमार श्रेष्ठले अस्पतालमा पुगेर चन्द्रकलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।