एजेन्सी । ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डिन्हो पाराग्वेको जेलबाट छुटेका छन् ।
पाराग्वेको नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा ५ महिना जेल बसेका रोनाल्डिन्हो सोमबार जेलबाट छुटेका हुन् ।
पाराग्वेका न्यायाधीश गुस्टाभो आमरिलाले रोनाल्डिन्होलाई जेलमुक्त गर्ने फैसला गरेका हुन् ।
रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टो डे एसिस मोरेरा पनि जेलबाट छुटेका छन् ।
तर, दुबैलाई जरिवाना गरिएको छ । रोनाल्डिन्होलाई ९० हजार अमेरिकी डलर र रोबर्टोलाई १ लाख १० हजार पाउण्ड जरिवाना गरिएको छ ।
यस्तै रोबर्टोलाई पाराग्वेमा अपराधिक गतिविधि गर्ने व्यक्तिको रेकर्डमा राखिएको छ भने रोनाल्डोलाई राखिएको छैन ।
अब रोनाल्डिन्हो कुनै अर्को देश जान स्वतन्त्र हुनेछन् । तर, रोबर्टोले भने २ वर्षसम्म ब्राजिल छाड्न पाउने छैनन् ।
विश्वकप विजेता रोनाल्डिन्हो र उनका दाजु गत मार्चमा पक्राउ परेका थिए । पाराग्वेको नक्कली पासपोर्ट बोकेको कारण उनीहरुलाई पक्राउ गरिएको बताईएको थियो ।
तर, उनीहरु एक महिना जेल बसाइपछि प्रहरीको निगरानीमा पाराग्वेमै रहेका थिए ।
न्यायाधीश गुस्टाभोले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरि रिहा गर्न आदेश दिएका थिए ।
रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो ।
सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।
फिफा प्लेयर अफ दि इयर, बालोन डी'ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।