एजेन्सी । 'अर्जेन्टिना भर्सेस आइल्याण्ड', रुस विश्वकप फुटबलमा धेरैको पर्खाइमा पर्ने खेल हो । र, समूह 'डी' मा रहेका यी दुई टोली आज साँझ मैदान उत्रदै छन् ।
अर्जेन्टिना र आइसल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ मा सुरु हुँदैछ । यी दुई टोली मैदान प्रवेश गर्दा सबैको नजर स्पार्टक रंगशालामा केन्द्रित हुनेछ ।
अर्जेन्टिना रुस विश्वकपकै दाबेदार टोली हो । भेट्रान अर्जेन्टिना लियोनल मेस्सीको टोली हो । अर्जेन्टिनाका कप्तान मेस्सी आफ्नो पुस्ताकै उत्कृष्ट खेलाडी हुन् । अर्जेन्टिनालाई अन्य स्टार खेलाडीको साथ रहन्छ ।
आइसल्याण्ड विश्वकपमा डेब्यु टोली हो । ३ लाख जनसंख्या रहेको आइसल्याण्डको सफलता भने छुट्टै छ । ठुला, स्टार खेलाडी छैन तर आइसल्याण्डको प्रदर्शन लोभलाग्दो छ । जसको कारण दुई बर्षअघिको युरोकपमा तहल्का मच्चाउन सफल आइसल्याण्ड, पहिलोपटक विश्वकपमा छनोट भएको छ ।
अर्जेन्टिना र आइसल्याण्डको खेल भेट्रानविरुद्ध नौलो टोलीको खेल जस्तै हुनेछ । भेट्रान या नव प्रवेशी टोलीले सफलता हात पार्ला ? हेर्न बाँकी छ । तर, यो खेल विश्व फुटबलप्रेमीको नजरमा रहने पक्का छ ।
विश्वकपको इतिहास हेर्दा अर्जेन्टिनाले सहजै जित्ने अनुमान गर्न सकिन्छ । तर, नौलो टोली आइसल्याण्डविरुद्ध अनुभवी अर्जेन्टिनालाई सहज भने छैन । २ पटकको विश्वकप विजेता अर्जेन्टिना सन् २०१४ को उपविजेता पनि टोली हो । त्यसैले अर्जेन्टिनाविरुद्ध आइसल्याण्डको पहिलो परीक्षा हुनेछ । आइसल्याण्डको असली फुटबलको स्तर देखिने छ ।
इतिहास, खेलाडी र खेलको तुलना गर्दा अर्जेन्टिनाविरुद्ध सफलता हात पार्न आइसल्याण्डलाई फलामको च्युरा चपाउनु सरह हुनेछ । तर, युरोपका ठुला प्रतिद्वन्द्वीमाथि धावा बोल्न सक्ने आइसल्याण्डको क्षमतामा प्रश्न उठाउन भने सकिन्न् ।
विश्वकपमा नौलो अर्थात् अण्डर डग टोली आइसल्याण्डविरुद्ध अर्जेन्टिनाको मुख्य हतियार बार्सिलोना स्टार मेस्सी हुनेछन् । मेस्सीको साथमा हुनेछन्, म्यानचेस्टर सिटीका सर्जियो अग्युरो । मेस्सी र अग्युरोको तालमेल मिलेमा आइसल्याण्डको डिफेन्स लाइन ध्वस्त बनाउन कठिन हुने छैन । मेस्सीकै जादुमयी प्रदर्शनले अर्जेन्टिना विश्वकपमा छनोट भएको थियो ।
तर, आइसल्याण्डको मुख्य हतियार भनेको डिफेन्स नै हो । बलिया प्रतिद्वन्दीसँगको खेलमा सधै पाँच डिफेन्डर मैदान उतार्ने आइसल्याण्डले अर्जेन्टिनाविरुद्ध पनि त्यहि रणनीति अबलम्बन गर्न सक्छ ।
काउन्टर अट्याक र आपासी तालेमल आइसल्याण्डको बलियो हतियार हुन् । लामो पास तथा सेट पिसमा आइसल्याण्डका खेलाडीहरु माहिर छन् । बिशेषगरी गिल्फी सिगर्ड्सन र जोहान बर्ग गौमोण्ड्सन। जसले अर्जेन्टिनालाई गाह्रो बनाउन सक्छ । पछिल्लो अवस्था हेर्दा अर्जेन्टिना अग्रपंक्ति जति बलियो छ, डिफेन्स लाइन त्यति धेरै बलियो छैन । चोटका कारण रोजाईका गोलकिपर रोमेरो पनि टोलीमा हुने छैनन् ।
अर्जेन्टिना र आइसल्याण्ड एक अर्कामा नौलो प्रतिद्वन्दी पनि हुन् । दुवै टोली पहिलोपटक एक अर्कासँग खेल्दै छन् । तर, पहिलो खेल जित्दै ३ अंक जोड्न चाहन्छ । कारण, क्रोएसिया र नाइजेरिया जस्ता बलियो टोली रहेको यो समूहमा पहिलो खेलले निकै महत्व राख्छ । पहिलो खेलमा ३ अंक जोड्न सक्ने टोलीलाई दोस्रो चरणमा पुग्ने बाटो फराकिलो हुनेछ ।
सम्भावित प्लेईङ ११ (अर्जेन्टिना) : विल्फ्रेडो क्याबलेरो, इडुवार्डो सालिभो, निकोलस ओटामेन्डी, मार्कोस रोजो, जेभियर मास्चिरानो, लुकास बिगलिया, एन्जल डी मारिया, म्याक्सिमिलियानो मेजा, सर्जियो अग्युरो, लियोनल मेस्सी
सम्भावित प्लेईङ ११ (आइसल्याण्ड) : हानेस हाल्डरसन, होर्डर म्याग्नुसन, रागनर सिगर्ड्सन, कारी अर्नासन, बिरकिर साभेरसन, जोहान बर्ग गौमोण्ड्सन, बिरकीर बर्जनासन, गिल्फी सिगर्ड्सन, इमिल हाल्फेरडसन,आरोन गुनार्सन, जोन डाडी बोडभार्सन