काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्नले प्रायोजन गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक बर्षको लागि सम्झौता गरेको हो । लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले नेत्र परिक्षण र चश्मा बिक्री बितरण गर्दै आएकाे छ ।
सम्झौता पत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे । सम्झौता अनुसार भिजन कन्सर्नले एक बर्षका लागि अभिषेकको नेत्र (आँखा)परिक्षण गर्नेछ । यस्तै आवश्यक्ता अनुसार नेत्रका साधन उपलब्ध गराउने छ । प्रायाेजन रकम भने खुलाईएको छैन ।
लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिदा निकै खुसी रहेको र आफुलाई यसले झनै प्रोत्साहन गर्ने बताए ।
‘चस्मा सम्बन्धित कम्पनीसँग जोडिन पाँउदा निकै खुसी छु । यसले आगामी दिनमा झनै प्रोत्साहन गर्नेछ ।’ एन्फा एकेडेमीबाट उत्पादित अभिषेकले भने ।
सम्झौता लगत्तै भिजन कन्सर्नले अभिषेकको पुर्ण नेत्र चेकजाँच गरेका थियो ।
अभिषेकले गतसाल मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । दोस्रो खेलमै चाईनिज ताईपेविरुद्ध गोल गर्दै रिजालले राष्ट्रिय टिममा आफुलाई स्थापित गरेका छन् ।
अभिषेक एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने क्लब स्तरिय एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् । उनले कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबाट भारतको मिनेर्वा पञ्जाव (हाल पञ्जाब एफसी) विरुद्ध गोल गरेका थिए ।
भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफुहरु निकै खुसी भएको र दुबैको सहकार्यमा आगामी दिनमा अगाडी बढ्ने बताए ।