एजेन्सी । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेलकुदको कुम्भमेलाको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका अनुसार विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
कोरोना भाईरसको कारण एक वर्ष सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ ।
कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ ।
यस अघि टोकियो ओलम्पिक यस्तै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।