एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा पहिलो ह्याट्रिक पुरा गरेका छन् । रुसमा जारी विश्वकप फुटबलमा स्पेनविरुद्धको खेलमा तीन गोल गर्दै रोनाल्डोले विश्वकपमा पहिलो ह्याट्रिक पुरा गरेका हुन् ।
फिस्ट ओलम्पिक स्टेडियममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा पेनाल्टीबाट गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसपछि खेलको ४४ औं र ८८ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे । रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनसँग ३ - ३ गोलको बराबरी खेलेको छ ।
स्पेनविरुद्ध ह्याट्रिक गरेसँगै रोनाल्डो रुस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोको यो करियरको ५१ औं ह्याट्रिक हो । संयोग, रोनाल्डोले विश्वकपमा गरेको ह्याट्रिक विश्वकपको पनि ५१ औं ह्याट्रिक हो । योसँगै रोनाल्डो चारै विश्वकपमा गोल गर्ने पोर्चुगिज खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए ।
रोनाल्डोले अघिल्ला तीन विश्वकपमा मात्र ३ गोल गरेका थिए । तर, रोनाल्डोले रुस विश्वकपको पहिलो खेलमै ३ गोल गरेका छन् । यो ह्याट्रिकसँगै रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन् । ३३ बर्ष १३० दिनका रोनाल्डोले नेदरल्याण्डका रोबको नाममा रहेको किर्तिमान भङ्ग गरेका हुन् ।
स्पेनविरुद्ध गोल गरेसँगै रोनाल्डो ठुला ८ प्रतियोगितामा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले सन् २००६ देखि युरो र विश्वकपको सबै संस्करणमा गोल गरेका छन् ।