एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा पोर्चुगलले विश्वकप फुटबलको पछिल्लो खेलमा स्पेनसंग ३–३ गोलको बराबरी खेलेको छ । रुसको फिस्ट ओलम्पिक स्टेडियममा पराजयतर्फ अग्रसर पोर्चुगललाई रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोल गर्दै बचाएका थिए । बराबरीपछि दुवै टोलीले समुह बीमा समान एक अंक बाँडेका छन् ।
खेलको चौथो मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ४० औ मिनेटमा दोस्रो गोल गरेका थिए । उनले ८८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै पोर्चुगललाई महत्वपुर्ण एक अंक दिलाए ।
२३ औ मिनेटमा स्पेनका लागि बराबरी गोल गरेका डिएगो कोस्टाले ५५ औ मिनेटमा पुन टोलीलाई खेलमा फर्काएका थिए । नाचोले ५८ औ मिनेटमा गोल गर्दै एक समय स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए ।
मुख्य प्रतियोगितामा दुवै टोली चौथो पटक भिडेका हुन् । पोर्चुगलले अहिलेसम्म विश्वकपको फाईनल यात्रा तय गर्न सकेको छैन । सन् २०१० मा एक पटक फाईनल पुगेको स्पेनले उपाधि समेत उचालेको थियो ।