काठमाडौं । नेपाल भलिबल क्लब अबुधाबीले पहिलो संस्करणको नेवाः पुचः युएई भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
दुबईस्थित जुबेल अलि लेवर क्याम्पको नुजल भलिबल कोर्टमा सम्पन्न फाइनलमा बाग्लुङ सेवा समाजको ए टिमलाई हराएर नेपाल भलिबल क्लबले उपाधि जितेको हो ।
उपाधिसंगै नेपाल भलिबल क्लबले ३५ सय दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बाग्लुङले २५ सय दिराम प्राप्त गर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बाग्लुङका बेलु थापा घोषित भए । यस्तै स्पाइकर नेपाल भलिबल क्लबका झोम थापा र उत्कृष्ट डिफेन्डर नेपाल भलिबलकै महेन्द्र श्रेष्ठ घोषित भए ।
नेवाः पुचः यूएईले आफ्नो स्थापनाकालको अवसरमा युएईकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता आयोजना गरेको हो ।
नेपाली चुल्हो अबुधाबीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।