काठमाडौं । इन्डोनेसिया जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत भारोत्तोलनमा नेपालकी तारादेवी पुनले तीन राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
आइतबार भएको महिला ७५ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ताराले स्न्याचमा ७४, क्लिन एण्ड जर्कमा १०१ गरी कुल १७५ केजी तौल भार बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
तर, आफ्नो तौल समूहमा आठौं स्थानमा रहिन् । ९ खेलाडी रहेको यो तौल समूहमा उत्तर कोरियाले स्वर्ण, उज्वेकिस्तानले कास्य र दक्षिण कोरियाले रजत हात पार्यो ।
ताराले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । एसियन गेम्सको छनोटमा ताराले कीर्तिमान राखेकी थिइन् । उक्त समय ताराले स्न्याचमा ७३ र क्लिन एण्ड जर्कमा ९७ केजी गरी कुल १७० केजी तौल उठाएकी थिइन् ।
योसंगै तारा एसियन गेम्समा राष्ट्रिय कीर्तिमान बनाउने तेस्रो खेलाडी बनिन् । नेपालबाट यसअघि कमल बहादुर अधिकारी र सन्जु चौधरीले राष्ट्रिय किर्तीमान बनाएकी थिइन् ।
ताराको प्रतिस्पर्धा सकिएसंगै एसियन गेम्समा नेपालको चुनौती सकिएको छ ।