एजेन्सी । जेन्स हास, त्यो समय अझै याद गर्छन् । जब उनले आफ्ना साथी योर्गेन क्लोपमा फुटबल प्रशिक्षकको दिमाग भएको शंका गरेका थिए ।
उनीहरु ११ वर्षका थिए, जब उनीहरु एस.बी ग्लाटेनको जुनियर टोलीको खेलका लागि यात्रा गर्दै थिए । यात्राका दौरान रेडियोमा उनीहरुले बुन्डेसलिगको आफ्नो प्रिय टोलि स्टुट्गार्टको खेल सुन्दै थिए ।
क्लोप स्टुट्गार्टको खेलको विश्लेषण गर्न थाले । खेलमा नतिजा उल्टाउन स्टुट्गार्टले गर्नुपर्ने खेलाडी परिवर्तन साथीलाई सुनाए ।
केही बेरमै कमेन्टेटरले स्टुट्गार्टले गरेको खेलाडी परिवर्तन सुनाए, जुन क्लोपले आफ्ना साथीलाई सुनाएका थिए ।
‘उनको खेलको बुझाई र ज्ञानले मलाई चकित गराउँथ्यो । कुनै बेला त उनी सानैबाट प्रशिक्षक हुन् जस्तो लाग्दथ्यो ।’ हास सम्झन्छन् ।
क्लोपको बाल्यकालले नैे छनक दिन्छ, कसरी उनी आधुनिक फुटबलका प्रतिभावान प्रशिक्षक बने ।
क्लोपलाई मेइन्ज, डर्ट्मण्ड तथा लिभरपुलमा निकै सम्मान गरिन्छ ।
मेइन्जमा रहँदा क्लोप खेलाडीबाट रातारात प्रशिक्षक बनेका थिए । प्रशिक्षक बनेका क्लोपले मेइन्जलाई पहिलो पटक बुन्डेस लिग फुटबलसम्म पुर्याएका थिए ।
यस्तै डर्ट्मण्डमा रहँदा उनले डर्ट्मण्डलाई बुन्डेसलिगा जिताएका थिए ।
अहिले लिभरपुलमा रहेका क्लोपले अघिल्लो सिजनमा च्याम्पियन्स लिग जिताएका थिए । उनै क्लोपको लिभरपुल अहिले ३० वर्ष पछि घरेलु लिग जित्ने संघारमा छ ।
क्लोप आफ्ना खेलाडी, टिमका अरु प्राविधिक, पत्रकार, समर्थकका माझ सधै मन्द मुस्कान लिएर उभिन्छन् ।
उनको यस्तो व्यक्तित्व जर्मनीको ‘ब्ल्याक फरेष्ट’ क्षेत्रस्थित ‘ग्लाटेन’बाट सुरु भएको थियो । क्लोपले ग्लाटेनमा आफ्नो बाल्यकाल बिताएका थिए ।
ग्लाटेनमा एउटा छाँगा छ, जुन ग्लाट नदिमा मिसिन्छ । ग्लाट नदिबाट नै ग्लाटेन नाम राखिएको हो । सोही छाँगामा क्लोप र उनका साथी ‘अवे गेम’ खेल्न जानु अगाडी जम्मा हुने गर्दथे ।
ग्लाट नदिको किनारमा क्लोप र उनका साथीले साइकल चलाउँथे । क्लोपको सेतो रंग लगाइएको घर अझै त्यहाँ छ, जहाँ उनकी आमा बस्छिन् ।
घर नजिकै प्राथामिक विद्यालय छ, जहाँ क्लोप पढेका थिए ।
यहि ठाउँ जुन लिभरपुल, डर्ट्मण्ड र मेइन्जको चर्को औद्योगिक हल्लाबाट टाढा छ, त्यहीँ क्लोपले चराका चिर्विराहटसंगै मौलिक सास्कृतीमा स्वतन्त्रताको पंखा हालेका थिए ।
‘यहाँका मानिस निकै शान्त स्वभावका छन् ।’ हास भन्छन्, ‘तर पैसाका लागि निकै होसियार छन् । मानिसको कामको आधारमा एक–अर्कालाई तुलना गर्छन् ।’
‘ग्लाटेनका मानिस मित्रता गाँस्न केही समय लिन्छन् । तर एकपटक साथी बनिसकेपछी जुनिभरलाई साथी बन्छन् । बाल्यकाल काट्न यो ठाउँ निकै राम्रो छ । यहाँ तपाईंले आफ्नो लागि समय पाउनुहुन्छ र आफुलाई गर्न मन लागेको कुरामा ध्यान दिन सक्नुहुन्छ ।’ हास ग्लाटेनको तारिफ गर्छन् ।
क्लोपका दुई दिदी छन् र उनीहरुलाई क्लोप आफ्नो दोश्रो आमा मान्छन् । तर उनलाई फुटबलमा भने उनका पिता नोबर्टले लगाएका थिए ।
नोबर्ट डुलिरहने व्यापारी थिए, जो शौखिन गोलरक्षक थिए ।
‘क्लोपमा नोबर्टको धेरै प्रभाव छ ।’ क्लोपका प्रथम प्रशिक्षक उल्रिक राठ सम्झन्छन् ।
राठले नै छोराहरु इङ्गो, हार्टी क्लोप र हाससँगै एउटा टोलीमा खेल्न सकुन् भनेर ग्लाटेनको ११ वर्ष मुनिको टोली बनाएका थिए ।
‘यो बुझ्नु जरुरी छ कि नोबर्ट ग्लाटेनमा जन्मेका थिएनन्, उनी मेइन्ज नजिकैको राइनल्याण्डमा जन्मेका थिए । त्यहाँ मानिसहरु मेला आयोजना गरेर आफ्नो खेल कौशल प्रदर्शन गर्छन् । तर ग्लाटेनमा त्यस्तो हुँदैन ।’ राठ थप्छन्, ‘नोबर्ट यहाँको पहिलो फुटबल क्लबमा पनि सक्रिय थिए र पछि टेनिस पनि खेल्दथे । नोबर्टबाट नै क्लोपले खेलमा आवश्यक उत्साह र ताकत पाएका थिए ।’
‘उनको आमा ग्लाटेनकै हुन् । यहाँका मानिसहरु पिछडिएका छन्, त्यसैले बढी मिहिनेत गर्छन् । उनीहरु निकै आशावादी पनि छन् ।’ राठ भन्छन्, ‘योर्गेन मिहिनेत गर्दा म उनमा नोबर्ट देख्छु । तर जब उनी कोठामा आफुलाई बन्द गराएर शान्तमा हौसला जुटाउँछन्, तब म उनमा उनकी आमा देख्छु ।’
क्लोप एस.बी ग्लाटेनको युवा टोलीका कप्तान थिए । उनी मिडफिल्डरका रुपमा खेल्थे । पछि उनी ग्लाटेनबाट १५ माईल टाढा रहेको एर्गेनजिङ्गेनबाट खेल्न गएका थिए ।
‘केही गलत हुँदा क्लोप सधैं आवाज उठाउँथे । उनी निकै महत्वकाक्षी थिए र आफ्ना साथीलाई सधैँ अगाडि बढ्न हौसला दिने गर्दथे ।’ ७९ वर्षिय राठ सम्झन्छन् ।
सन् १९८१ मा ग्लाटेनमा नयाँ टोली बनेको थियो र जर्सीको रङ बोरुसिया डर्ट्मण्डको जस्तै गराइएको थियो ।
सो टोलीको संग्रहालयमा क्लोपले हस्ताक्षर गरेको डर्ट्मण्डको जर्सी राखिएको छ । सोही टोलीको मैदानमा क्लोपले डर्ट्मण्डबाट सन् २०११ मा बुन्डेस लिग जिताएपछि सम्मान गरिएको थियो ।
क्लोप मंञ्चमा गए, जब गाउँका मानिसको चिच्याहट कम भयो । उनी आफ्नो बाल्यकालको गाउँका मानिसको अगाडि आफ्नो भनाई राख्न लागे ।
‘त्यो पल निकै आश्चर्यजनक थियो । एकपल उनी व्यवसायीक प्रशिक्षक थिए र अर्को पल उनी मेरो सानैदेखिको साथी थिए । उनी आफ्नो गाउँका मानिस अगाडी यहाँकै भाषामा बोलेका थिए ।’ हास सुनाउँछन् ।
राठ अहिले क्लोपलाई धेरै भेट्दैनन् । तर राठलाई उनको ७५ औँ जन्मदिनमा क्लोपले फोन गरेका थिए । उनी त्यसबखत निकै भावनात्मक बनेका थिए ।
‘मलाई उनले बधाई दिए । यो उनको घर हो र उनले यो भुलेका छैनन् ।’ राठ आँसु झार्दै भन्छन् ।
ग्लाटेन छाडेपछि ‘स्पोर्ट्स साईन्स’ पढ्न सहर पसेका क्लोप रोट बीस फ्रान्कफुर्टबाट खेल्न लागे ।
सन् १९९० मा क्लोप दोश्रो डिभिजनको क्लब मेईन्ज लागे । उनी त्यसबेला २३ वर्षका थिए । उनी त्यहाँ माईकल स्कुमाकरको नेतृत्वमा खेल्न लागे ।
‘त्यो बेला हेराई र व्यक्तित्वमा क्लोप विद्यार्थी नै थिए । जिन्स र टिसर्ट लगाएर आउने उनीमा कुनै तनाव देखिदैनथ्यो ।’ माइकल सम्झना गर्छन् ।
मैदानमा उनलाई आफुलाई प्रमाणित गर्न गाह्रो पर्दथ्यो । उनी आफैपनि सो कुरा स्विकार्ने गरेका छन् । उनी खेल विश्लेषण गर्न माहिर थिए तर खेलमा उतार्दा भने कमजोर देखिन्थे ।
‘यहाँ आउँदा उनी फरवार्डको भूमिकामा आएका थिए । उनी निकै तिव्र थिए र हेडरमा राम्रो थिए । तर क्लोप खेलको प्राविधिक पक्षमा कमजोर देखिन्थे ।’ माइकलले भने ।
‘यो उनको लागि निकै कठिन समय थियो । जब उनको नाम लिइन्थ्यो, समर्थक उनलाई हतोत्साहित पार्दथे । एकदिन क्लोपले अब म के गर्ने ? मलाई कोचले जसरि नै खेलाउँंछन् ? भनेर सोधेका थिए । उनलाई पनि थाहा थियो, उनी उत्कृष्ट खेलाडी थिएनन् तर उनी आफुलाई लगाइएको काम गरिरहेका थिए ।’ माइकल सुनाउँछन् ।
प्रभावशाली प्रशिक्षक बुलफाङ फ्रायाकले उनलाई डिफेन्डिङको भुमिकामा झारेपछि भने क्लोप मेइन्जमा सफल भए । उनी त्यहाँ ३ सय २५ खेल खेलेका थिए । तर उनलाई प्रशिक्षक बनाउने अचानकको निर्णयले क्लोपभित्रको प्राकृतिक कलालाई बाहिर ल्याएको थियो ।
मेईन्जको टोली जर्मन फुटबलको तेस्रो डिभिजनमा घटुवा हुने संघारमा थियो । मेइन्जका अध्यक्ष हराल्ड स्र्टुटले सन् २००१ फेब्रुअरीमा अचानक एक निर्णय लिए । उनले क्लोपलाई टोलीको प्रशिक्षकको जिम्मा दिए ।
‘मेइन्जले छोटो समयमै तीन प्रशिक्षकको प्रशिक्षणमा खेलेको थियो । हाम्रो अगाडि एक महत्वपूर्ण खेल थियो । हामीले खेलाडीलाई भनेका थियौ, कि तिमीहरु बाहेक कसैले नि टोलीलाई सहयोग गर्न सक्दैन ।’ हराल्डले भने ।
‘क्लोपमा ढृढता थियो । उनी सामान्य भएपनी उनको व्यक्तित्व विषेश थियो । उनको व्यक्तित्वले सबै समर्थकलाई मोहित पारिसकेको पनि थियो र उनको खेलहरुले नै उनी एक नेता भएको झल्को दिन्थे ।’ हराल्ड थप्छन्, ‘हामीले उनलाई प्रशिक्षक बनाउने निर्णय गर्यौ र यो मेइन्जको सुखद भविष्यको सुरुवात थियो ।’
हराल्डको सो निर्णयले छिट्टै प्रभाव देखाउन लाग्यो ।
क्लोपको प्रशिक्षणमा मेइन्जले पहिलो ७ खेलमा ६ मा जित हात पार्न सक्यो र रेलिगेसन जोनबाट जोगियो ।
त्यसपछिका दुई सिजन मेइन्जले डिभिजन बढुवाका लागि निकै मिहिनेत गर्यो । तर दुवै पटक अन्तिममा गएर मेइन्ज प्रथम डिभिजनमा बढुवा हुन असफल बन्यो ।
यसरी क्लोप आफ्नो टोलीलाई मजबुत गराउँदै गए । यसले सहर र हराल्ड दुबैको मन जित्दै गयो ।
क्लोपले आफ्ना १५ हजार समर्थकका अगाडी मनदेखि नै बोलेका थिए ।
उनले भने, ‘तपाईहरु नआत्तिनुहोस । हामी पुनः एक पटक प्रयास गर्नेछौ र मजबुत बनेर फर्कनेछौँ ।’
सो पल निकै सम्झनलायक रहेको हराल्ड बताउँछन् ।
‘सबै समर्थकको आँखामा आँसु थियो । क्लोप मंञ्चमा गएर बोल्न लागे र उनी निकै प्रभावशाली तरिकाले बोले ।’ हराल्डले भने ।
आँशु खुशीमा परिणत भयो, जब मेइन्ज पहिलो पटक २००४ मा बुन्डेस लिगमा बढुवा भयो । मेइन्जले बुन्डेस लिगमा ३ सिजन खेल्न सक्यो, जुन क्लोपका लागि महत्वपूर्ण थियो ।
उनले आफ्नो प्राविधिक र रणनीतिक पक्षमा सुधार गर्दै जर्मन फुटबलको शक्तिशाली व्यक्तिको सुचीमा आफुलाई अटाउन सफल भए ।
‘मेइन्जसँग खेल्दा खेलाडीहरु कमजोर भएपनी उनीहरुको आत्मबल बलियो देखिन्थ्यो ।’ बोरुसिया डर्ट्मण्डका प्रमुख हान्स जोएचिम सम्झिन्छन् ।
क्लोपले २००८ मा मेइन्ज छाडे र बोरुसिया डर्ट्मण्डमा आवद्ध बने ।
त्यहाँ पनि उनले डर्ट्मण्डको ‘एल्लो वाल’ अर्थात ८० हजार समर्थकको मन जित्न सके ।
आफ्नो ट्रेडमार्क शैली ‘हेभी मेटल’बाट खेलाउँदै क्लोपले डर्ट्मण्डमा पनि जित चुमे । बुन्डेसलिगामा संघर्ष गरिरहने डर्ट्मण्डलाई उनले २०११ मा लिग जिताए र २०१२ मा लिगसंगै जर्मन कप पनि जिताउन सके ।
‘क्लोपले टोलीलाई नयाँ रुप दिए । उनले खेलाउने खेल पहिलेको डर्ट्मण्डको टोलीले खेल्ने भन्दा निकै फरक थियो । उनी आक्रामक खेल खेलाउन माहिर थिए ।’ हान्सले सुनाए ।
सन् २०११ मा लिग जितेपछि क्लोपको नाममा एउटा गित नै रचिएको थियो । ‘क्लोप डु पप स्टार’ नाम दिइएको सो गित लिग जितेपछि खुसीयालीमा बजाइएको थियो ।
‘जर्मनीमा उनी सबैभन्दा प्रख्यात मध्यका एक हुन् । उनी मानिसहरुका लागि आदर्श हुन् । उनी पप स्टार बन्न चाहन्नन् तर उनी एक हिरो हुन् ।’ उली ग्राफ सुनाउँछन् ।
ग्राफले नै ‘क्लोपो डु पप स्टार’ रचना गरेका थिए ।
ग्राफका लागि क्लोपसंग होलिडे मनाउनु सबैभन्दा रमाइलो पल हो ।
‘उनी मजाक गर्छन्, हसाउँछन् । खेल, राजनीति सबैका बारेमा खुलेर कुरा गर्छन् । उनीसँग कुरा गर्दा कुनै डर मान्नु पर्दैन ।’ ग्राफ भन्छन् ।
उनी डर्ट्मण्डका प्रायोजकहरु सँग पनि राम्रो चिनजान राख्दथे । यदि उनीहरु प्रायोजन लम्ब्याउने÷नलम्ब्याउने बारे दुविधा आएको बेला क्लोपले नै उनीहरुलाई फोन गर्दथे ।
‘उनी हतियार थिए, एक अल–राउण्डर जो टिमलाई हरेक क्षेत्रमा सहयोग गर्न चाहन्थे । प्रायोजकहरु यति खुशी हुन्थे जब क्लोप आफैंले उनीहरुलाई फोन गर्दथे र उनीहरु प्रायोजन बढाउन तयार हुन्थे ।’ डर्ट्मण्डका मार्केटिङ प्रमुख कार्सटन क्रामर भन्छन् ।
क्लोपले डर्ट्मण्ड छाडेर लिभरपुल गएको पाँच वर्षपछि पनि उनको क्रामर र हान्ससँगको सम्बन्ध निकै राम्रो छ । क्लोपले क्रामर र हान्सलाई लिभरपुलले सन् २०१८ र सन् २०१९ को यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल्दा पाहुनाको रुपमा निम्ता दिएका थिए ।
‘जब तपाई ७ वर्षसम्म क्लोप जस्ता मानिससँग काम गर्नुहुन्छ र उनलाई मिस गर्दिन भन्नुहुन्छ भने त्यो असत्य हुन्छ । उनी असामान्य छन् । तर लिभरपुललाई उनले दिएको शक्ति र आशाले हामीलाई गौरव दिन्छ ।’ क्रामर भन्छन् ।
(बीबीसीबाट अनिश भट्टराईको अनुबाद)