निराेज मास्के ।
काठमाडौं । नेपाली भलिबलका लागि जेठ ८ गते विशेष दिन हो । राष्ट्रिय खेलको घोषणाले भलिबलको नयाँ पहिचानमात्र दिएको छैन, सम्भावनाका ढोकालाई उजागर समेत गरेको छ । भलिबल घरेलु खेलकुदमा सम्भावना बोकेका खेल हो । पछिल्ला केही बर्षमा नेपाल भलिबल संघको सक्रियताले भलिबलको नतिजा र प्रर्दशनमा सुधार आएको देखिन्छ । सुरुवातमा सुस्त देखिएको भलिबल संघ पछिल्लो समय चलायमान छ ।
विगत भन्दा राम्रो क्रियाकलाप गरेको देखिन्छ । भलिबलको यही गतिशिलतालाई कायम राख्दै अझ राम्रो बनाउन सकिन्छ । भौगोलिक हिसाबले सबै क्षेत्रमा खेल्न सकिने भएकाले नेपालमा भलिबल लोकप्रिय छ । तराई भन्दा पहाडी क्षेत्रमा यसको लोकप्रियता अझ बढी छ । सानो क्षेत्रफल, कम भौतिक पूर्वाधारमा समेत खेल्न सकिने भएकाले भलिबल नेपालमा लोकप्रिय बन्न सकेको हो भन्ने लाग्छ ।
भलिबल संघको सक्रियतासंंगै भलिबल मुलधारको खेलकुदमा महत्वपूर्ण हिस्सा बन्न सकेको छ । यसले नयाँ सम्भावनाहरु देखाएको छ । गत बर्षमात्र हामीले १३ औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक सफलता हासिल गर्यौ । महिला टिमले एभीसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जित्न सफल भयो । तर यि सबै सफलता सुरुवातमात्र हो । खेलाडीको ब्यक्तिगत क्षमताले नै हामीले यि सफलता प्राप्त गरेका हौ । सिमित स्रोत साधानमा खेलाडीले आफुलाई प्रमाणित गरेका छन् । सरकारसंग समन्व्य गरेर भलिबल संघले नयाँ योजना र कार्यक्रमलाई कार्यान्वयन गर्यौ भने भलिबलले अझ उच्च सफलता प्राप्त गर्छ भन्ने लाग्छ ।
भलिबल संघले मुख्य तीन कुरामा आफुलाई केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ । अब खेलाडी उत्पादन, तिनीहरुको व्यवसायीकरण र पुर्वाधार निर्माणलाई अगाडी बढाउनुपर्ने आवश्यता देखेको छु ।
खेलाडी उत्पादन संघको मुख्य जिम्मेवारी भित्र पर्छ । देश भित्रका विद्यालयलाई खेलाडी उत्पादनको मुख्य थलो बनाएर काम गर्नुपर्छ । विद्यालय स्तरबाट भलिबललाई सुरु गर्न सक्यौ भने राष्ट्रले धेरै राम्रा खेलाडी पाउन सक्छ । सानै उमेरबाट भलिबलको प्राविधिक ज्ञान सिक्ने पाएको खण्डमा खेलाडीले लामो समय भलिबलमार्फत देशलाई योगदान दिन सक्छन् ।
दोस्रो बिषय खेलाडी र खेलको व्यवसायीकरणनै हो । तीतो यथार्थ खेलाडीलाई हामीले भलिबलमा भविष्य देखाउन सकेका छैनौ । भलिबल खेलेरै बाच्न सकिन्छ भन्ने आत्मविश्वास र सुनिश्चितता हामीले खेलाडीमा भर्न आवश्यक छ । राम्रा खेलाडी पलायन हुदाँ हामीले भलिबलमा दिर्घकालिन उपलब्धी हासिल गर्न सक्दैनौ ।
खेल्ने समयमात्र हैन, सन्यास पछि समेत भलिबलमा लागेर जिविकोपार्जन गर्न सक्ने खालको योजना आजको आवश्यकता हो । खेल छाडेपछि हरेक खेलाडीलाई जिविकोपार्जनका लागि गाह्रो हुन्छ । खेल्ने समय चोट बोकेको हुन्छ, अन्य आयआर्जनको बाटो हुदैन । त्यसैले खेलाडीको भविष्य सुनिश्चित गर्ने आर्थिक प्याकेज बनाउन आवश्यक देखिएको छ । भलिबलकाे व्यवसायीकरणनै आजको आवश्यकता जस्ताे देखिन्छ ।
तेस्रो महत्पुर्ण बिषय भनेको पुर्वाधारको क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ । केन्द्रिय स्तरमै भलिबलको आफ्नो कभर्डहल छैन । पुर्वाधारमा हामी कमजोर छौ । पुर्वाधारनै नभए कहाँ खेल्ने ? खेलाडी कसरी बन्ने ? सोच्न जरुरी छ । केन्द्र सहित मोफसलका धेरै भन्दा धेरै स्थानमा भलिबलका पुर्वाधार बनाउन जोड गर्ने समय आएको छ । भलिबलको पुर्वाधार विकास गर्न सकेको खण्डमा मात्र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्छ ।
सरकारले राष्ट्रिय खेल घोषणा गरेर भलिबललाई राष्ट्रिय पहिचान दिएको देखिन्छ । राष्ट्रसंग जोडिएको खेल भएको हिसावले पुर्वाधार र प्राविधिक विकासमा राज्यबाट ठुलो सहयोग हामीलाई चाहिएको छ । राष्ट्रको माटो र भावनासंग जोडिएको खेल भएको हुनाले यसलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक छ ।
सरकारको घोषणाले भलिबलले राष्ट्रिय महत्व पाएको छ । यही उपलब्धिमा टेकेर भलिबलको विकासमा अघि बढ्न ढिलाई गर्नुहुन्न । देशको सबै क्षेत्रमा खेलिने भलिबललाई अब व्यवस्थित बनाउँदै राष्ट्रिय खेलको चिनारी दिन आवश्यक छ ।
पक्कैपनि केही कमजोरी हाम्रा पनि छन् । देशका ७५ वटै जिल्लासंग जोडिएको एकमात्र खेल भलिबल हो । तर हामीले सबै जिल्लाका भलिबल संघलाई क्रियाशिल र व्यवस्थित बनाउन सकेका छैनौ । गतिविधि सञ्चालन गर्न सकेका छैनौ । भलिबल पछिल्लो समय काठमाडौं केन्द्रित जस्तो मात्र देखिन्छ ।
अब सबै जिल्लालाई क्रियाशिल बनाएर भलिबललाई राष्ट्रिय रुपमा विकास गर्ने योजना बनाउने समय आएको छ । जिल्ला, प्रदेश बलियो भएको खण्डमा मात्र भलिबलको विकास सम्भव छ । धेरै राम्रा खेलाडी शहर बाहिर छन्, ती प्रतिभालाई चिन्न जरुरी छ । सबै जिल्लामा पुगेर यस खेलको दायरालाई फराकिलो बनाउनुपर्ने देखिन्छ ।
(भलिबल दिवसका अवसरमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केसंग गरिएको कुराकानीका आधारमा)