एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन जुनसुकै अवस्थामा पनि खेल जित्न चाहने स्वभावका छन् ।
‘जीवनमा भरोसा गर्नुपर्छ’ भन्ने आदर्श राख्ने ४८ वर्षीय सिमोन जुनसुकै अवस्थामा पनि खेल जित्ने आकांक्षा राख्छन् ।
बाधाहरुको चुचुरो उनको नजिकै भएपनि उनी आफुलाई धैर्य राख्छन् ।
उनी बाधाहरुका आसपासनै सफलता हुने ठान्छन् ।
तीन दशक अगाडिको एक कथा –
सिमोन १७ वर्षको हुँदा पहिलो पटक अर्जेन्टिनाको १९ वर्ष टोलीमा बोलाईएका थिए । उनलाई ब्युनस ऐरिसस्थित फुटबल संघको मुख्यालयमा प्रशिक्षणमा बोलाईएको थियो ।
उनी बोलाइएको समय भन्दा छिटो गए । अरुलाई आधा घण्टासम्म कुरे । तर, कोही देखिएनन् ।
सिमोन दुखी हुँदै पत्रिका किन्न पसल गए ।
पत्रिका बेच्ने मान्छेलाई मेरो टिमका सदस्यलाई देखेका छौ ? भनेर प्रश्न गरे ।
पत्रिका बेच्ने मानिसले सदस्यहरु ७ बजेनै फर्किसकेको बताए ।
उत्तर सुनेर सिमोन र उनका अर्का साथी एन्टोनियो मोहम्मद आत्तिन लागे । किनकी उनीहरुलाई पहिलो पटक टिममा बोलाईएको थियो र उनीहरुले भेट्न सकेनन् ।
‘हामी साँच्चिकै चिन्तित भयौ । हामीले मिटिङको समय गलत पाएका रहेछौं ।’ मोहम्मद सम्झन्छन् ।
‘त्यसपछि सेन्ट्रल मेट्रोतर्फ भाग्यौ ।’ मोहम्मद त्यस दिनको स्मरण गर्दै भन्छन्, ‘टिमलाई भेट्न त्यहाँबाट दुईवटा बस चढ्नुपर्ने थियो ।’
उनीहरु पहिलो बस चढेर गए । उनीहरुसंग दोस्रो बसका लागि पैसा थिएन । तर पनि उनीहरु बस चढ्ने आँट गरे ।
बस चढेपछि सिमोनले चालकसँग भने, ‘हेर्नुस, मेरो अनुहारमा गहिरिएर हेर्नुहोस, एकदिन म सफल फुटबलर हुनेछु । मेरो नाम सम्झनुस । म एकदिन अर्जेन्टिनाका लागि खेल्नेछु । आज हामीलाई एउटा सानो सहयोग गरिदिनुहोस् ।’ मोहम्मद त्यसदिनको हरेक क्षण सम्झिन्छन् ।
बस चालकले उनीहरुलाई स्टेसनसम्म लग्दिए । प्रशिक्षण स्थल बस स्टेसनबाट ६ किलोमिटर टाढा थियो । सिमोन र मोहम्मदसँग दौडनु बाहेक अर्को विकल्प थिएन ।
दौड्दै गर्दा मोहम्मद बिच–बिचमा थकानले नभागौं भन्थे ।
सिमोन ‘अझै टिम भेट्ने आशा छ, दौडी रहौं’ भन्दै मोहम्मदलाई सम्झाउँथे ।
उनीहरु प्रशिक्षण स्थल त पुगे, तर प्रशिक्षण सक्किसकेको थियो ।
पसिनाले भिजेका सिमोन र मोहम्मदले २० वर्ष मुनिका अजेन्टिनी टिमका प्रशिक्षक कार्लोस पाकेमसँग कुरा गरे । दुवैले पाकेमलाई आफुहरु ढिला पुग्नुको कारण सुनाए ।
पाकेमले सो कुरा अर्जेन्टिनी प्रशिक्षक मुख्य प्रशिक्षक कार्लोस बिलार्डोलाई सुनाए ।
बिलार्डो उनीहरुको हाउभाउबाट प्रभावित भए ।
दुवैलाई सिनियर टिमसँग प्रशिक्षण गर्ने मौका दिए ।
अर्जेन्टिनी टिम सन् १९९० को विश्वकपको तयारीका लागि जर्मनी गएको थियो । बिलार्डोले दुवै खेलाडीलाई अतिरिक्त खेलाडीका रुपमा जर्मनी लगे ।
सन् १९९१ देखि सिमोन र मोहम्मद दुबैले अर्जेन्टिनीको राष्ट्रिय टोलीमा स्थान बनाए ।
नयाँ प्रशिक्षकका रुपमा अल्फियो बेसिल आएका थिए । उनीहरु सन् १९९१ र १९९३ मा कोपा अमेरिका कप जितेको अर्जेन्टिनी टिमका मुख्य सदस्य रहे ।
अर्जेन्टिनी फुटबलमा उत्कृष्ट खेलाडीको नाम लिँदा ग्याब्रियल बाटिस्टुटा, फर्नान्डो रेडोन्डोसँगै सिमोनको समेत नाम जोडिन थाल्यो ।
सिमोन सन् १९९४ देखि २००२ सम्म लगातार पटक विश्वकपमा अर्जेन्टिनी टिमबाट सहभागी बने । तीनै विश्वकप अर्जेन्टिनाले फरक फरक प्रशिक्षकको नेतृत्वमा खेलेको थियो ।
सिमोनले अर्जेन्टिनाको टिमबाट डिएगो म्यारोडोना भन्दा बढी खेल खेले ।
‘सिमाने पहिलेबाट नै लिडर थिए ।’ उनीका संगीत शिक्षक ब्रुनो अमासिनो भन्छन् ।
‘एकदिन म पियानो बजाउदै थिए । उसलाई ब्याण्डका अरु सदस्यलाई संकेत दिन आग्रह गरें । तर उसले संकेत दिन नचाहेको बतायो । र बाजा बजाउने ढिपी गर्यो । तर उ नेतृत्व लिन उत्कृष्ट थियो ।’ सिमोनको स्वभावबारे अमासिनो सम्झन्छन् ।
‘उ सधैं फुटबलकै बारे सोच्थ्यो । एकदिन उसलाई मैले परिक्षामा राम्रो अंक नल्याएको सम्झाउँदै भविष्यमा के गर्छौ भन्दै प्रश्न गरे ?’ उनी सुनाउँछन, ‘उसले मलाई शंका नगर्न भन्दै आफु फुटबल खेलाडी नै हुने बताएको थियो ।’
‘म उसलाई फुटबलबाट कमाई हुँदैन भन्न चाहन्थें तर आज उसको कमाइ हेर्दा मलाई आफ्नो सोचमा नै हाँसो उठ्छ ।’ अमासिनो बताउँछन् ।
सिमोनको एट्लेटिको मड्रिडमा शंकाका लागि कुनै ठाउँ छैन । सुरुमा विश्वासिलो हुनपर्छ र मात्र फुटबलर बन्न सकिन्छ ।
सिमोनको नेतृत्वमा स्पेनिस क्लब, टिममात्र होइन, एउटा भरोसा पनि हो ।
उनी आफ्ना खेलाडीलाई कडा मेहनत नगरेको खण्डमा माफ गर्न सक्छन् तर आफैमा विश्वास गर्न नसक्ने खेलाडीलाई माफ गर्न सक्दैनन् ।
युरोपका अधिकांश फुटबल टिम बललाई आफ्नो कब्जामा राख्नुलाई सफलता मान्छन् तर सिमोनको दर्शन छुट्टै छ ।
‘फुटबल सिकार जस्तै हो ।’ सिमोनले आफ्नो पहिलो किताब ‘एल एफेक्टो सिमोन’मा लेखेका छन् ।
‘एक सेकेण्डले सबै परिवर्तन गर्न सक्छ । तर यो केबल सेकेण्ड मात्र होइन, यो चमकता पनि हो । सिकार एक पलका लागि त्यहाँ हुन्छ, अर्को पल हुँदैन । त्यसपछी सिकार गर्ने मौका हुँदैन ।’ सिमोनले लेखेका छन् ।
‘तिमीले एक सेकेण्डका लागि तयारी गर्नुपर्छ । जुन तिमीलाई महत्वपुर्ण लाग्छ । सो पल बुझ्नु पर्छ । यो केबल खेलाडीको बौद्धिकता, अनुभवबाट आउँछ ।’ उनले लेखेका छन् ।
बार्सिलोना जस्तो टोली एट्लेटिकोलाई आफ्नो सिकार मान्छ । उसलाई बल नियन्त्रणमा लिएर हराउन चाहन्छ । तर एट्लेटिको भने पहिला बल रक्षाका लागि खेल्छ । त्यो एक मौका कुर्छ, जसमा उ शिकारबाट शिकारी बन्छ ।
यो रणनीतिले एट्लेटिकोलाई अर्को बलियो प्रतिद्धन्दी रियल मड्रिडविरुद्ध पनि लाभ दिएको छ । सिमोनले एट्लेटिकोको प्रशिक्षकको जिम्मेवारी लिनु अगाडी १४ वर्षसम्म एक खेल पनि जितेको थिएन ।
तर उनले जिम्मेवारी लिएपछि २८ खेलमा ९ मा जित हात पारेको छ भने ९ मा पराजय भोगेको छ । १० खेल बराबरीमा सकिएको छ ।
रियलले एट्लेटिकोलाई च्याम्पियन्स लिगको सन् २०१४ र २०१६ को फाइनलमा हराएको थियो । तर सिमोन आउनुअघि पहिले एट्लेटिकोलाई त्यहाँ पुग्नु सपना हुने गर्दथ्यो ।
सन् २०१३ को स्पेनिस सुपर कपको उपाधि ‘अन्डरडग’ एट्लेटिकोले जितेको थियो । फाइनलमा रियल मड्रिडलाई उसैको मैदानमा हराएको थियो ।
यस्तै, एट्लेटिकोले रियललाई युरोपियन सुपर कपको फाइनलमा समेत हराएको थियो । सिमोनको नेतृत्वमा क्लबको सातौं उपाधि थियो । सिमोन प्रशिक्षक बनेर आउनु अघि एट्लेटिको रेलिगेशन जोनको नजिक हुने गर्दथ्यो ।
कमजोर मानिने एट्लेटिकोको उनको प्रशिक्षणमा एउटा बलियो टिम बनेको छ । उनकै प्रशिक्षणमा एट्लेटिकोले दुई युरोपा लिग, एक ला लिगा, एक कोपा डेल रे, एक स्पेनिस सुपर कप र दुई युरोपियन सुपर कप जितेको छ ।
‘जब म एट्लेटिकोको टिम खेलिरहेको देख्छु, तब म भन्न सक्छु यो सिमोनको टोली हो ।’ पोर्चुगल र रियल मड्रिडका पुर्व खेलाडी लुइस फिगोले भने । जब एट्लेटिकोले सन् २०१८ युरोपियन सुपर कपको फाइनला मार्सेलोलाई ३–० ले हराएको थियो ।
सिमोनसँग खेलेका फिगोले भने, ‘यस टिममा सिमोनको जस्तै चाहना छ र बल छ ।’
साइमोन ‘एल चोलो’को उपनामले समेत चिनिन्छन् । सो उपनाम बोका जुनियर्सका डिफेन्डर कार्मेलो साइमोनको नामबाट दिईएको हो, जो बललाई गोल हुन नदिन स्टेडियमनै कटाइदिन्थे ।
सिमोन खेलाडीकै रुपमा पनि एट्लेटिकोमा सफलता पाएका थिए । उनले एट्लेटिकोमा लिग र दोहोरो कप जितेका थिए ।
तर यसलाई उनी कहिल्यै सहज तरिकाले लिदैनथे ।
सिमोनले फुटबललाई युद्ध जसरी खेल्थे ।
मैदानमा उनी योद्धाको व्यवस्थापक हुन्थे । अहिले व्यवस्थापकको रुपमा उनी योद्धा हुन् । उनी अहिले पनि युद्ध लडिरहेका छन् तर मैदानको रेखा बाहिर रहेर ।
सिमोनले २० वर्ष व्यवसायीक फुटबल खेले । उनले डेब्यु भेलेज क्लबबाट गरेका थिए भने अर्जेन्टिनी क्लब रेसिङ एफसीबाट बिदाइ लिएका थिए ।
सन् २००६ को मध्य सिजनमा रेसिङ एफसीको प्रशिक्षकको जिम्मेवारी लिन कोही तयार थिएनन् । टिमका कप्तान सिमोन थिए । उनले आफ्नो कप्तानी पद छाडे । कप्तानको जिम्मेवारी त्याग्दै उनले प्रशिक्षकको कालो कोट लगाए, जुन अहिले पनि उनी लगाउँछन् ।
‘त्यसरी बिदाइ लिन्छु भन्ने जस्तो लाग्दैनथ्यो । तर त्यो अवस्थाको फाइदा लिन चाहन्थें । फुटबलमा तपाईको जिवनमा एक मात्र ट्रेन आउँछ । बस्ने कि ट्रेन छाड्ने तपाईको इच्छा हो । तर म छुटाउन भन्दा बस्न चाहन्थें ।’ साइमोनले एक अन्तर्वार्तामा भनेका छन् ।
‘यो मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो र यसमा कुनै दुख मान्दिन ।’ सिमोनले सुनाएका छन् ।
छिटो निर्णय गर्नु सिमोनको व्यक्तित्वको एक हिस्सा रहेको छ ।
एकदिन उनका एजेन्टले उनलाई उनको पहिलो क्लब भेलेज सार्सफिल्डको कार्यालयमा थुने ।
उनलाई इटालीमा खेल्न आग्रह गरे ।
१९ वर्षका सिमोनसँग निर्णय गर्न केबल १५ मिनेट थियो ।
हुन्छ ? हुँदैन ? उनी सोच्न थाले । नत्र इटालियन क्लब पिसासँग सम्झौता हुँदैन्थ्यो ।
‘घरमा र मसँग फोन नभएकाले घरमा समेत फोन गरेर सोध्न पाईन ।’ उनले भने, ‘अन्तिममा मैले इटालीमा अर्जेन्टिनी खेलाडी खेलेको सम्झिए । र इटाली जान तयार भए ।’
‘तर मलाई कहाँ जाँदै छु भन्ने केही थाहा थिएन, अर्जेन्टिनामा गर्मीको समय भएकाले मैले त्यही अनुसार कपडा हालेको थिए । तर इटालीमा त जाडो पो रहेछ ।’ उनी सम्झन्छन् ।
उनले खेलमा आफ्नो रोललाई ‘अल फिल्डर’ भनेर लेखाए ।
यो जिम्मेवारी अर्जेन्टिनी प्रशिक्षक कार्लोस बिलार्डोले सिमोनलाई प्रशंसा गर्दा प्रयोग गर्दथे ।
सिमोन सिमा विहिन खेलाडी थिए । उनी मैदानको जुनसुकै भागबाट खेल्न सक्ने । उनी आक्रमण पनि राम्रो गर्थे, डिफेन्डि पनि राम्रो गर्दथे । र धेरै गोलहरु हेडमार्फत गर्दथे ।
उनी सबैभन्दा प्रतिभावान खेलाडी थिएनन् तर उनीसँग खेल बुझ्न सक्ने मानसिकता थियो ।
उनी साना साना ठाउँ भेट्थे, जहाँबाट जुनसुकै अवस्थामा खेलको कायापलट हुन सक्थ्यो ।
उरुग्वेसँगको खेलमा सिमोनले एउटा वाक्य भनेका थिए, जुन अहिले पनि दक्षिण अमेरिकी फुटबलमा प्रयोग गरिन्छ ।
त्यो हो ‘दाँतको बिचमा चक्कु राखेर खेल्नु ।’ यसको अर्थ आक्रमण गर्न तयार रहेको योद्धा हुन्छ ।
सिमोनको दिमागमा खेलको बेला राम्रो सोच आउँदैन । उनी हरेक खेल युद्धको जसरी लिन्छन् । उनी कि शिकारी बन्न चाहन्छन् कि सिकार बन्न तयार देखिन्छन् ।
सन् १९८८ मा फ्रान्समा भएको विश्वकपमा सिमोनले अनौठो घटना घटाए । इङ्गल्याण्डका मिडफिल्डर डेविड बेकह्यामसंग सिमोनले खेल्दै गर्दा जानाजान टाउको ठोक्काए । सिमोन जानजान त्यही लडे । बेकह्यामलाई रिस उठ्यो । उनले आफ्नो रिस देखाउन खोज्दा रेफ्री किल मिल्टन नेल्सनले रातो कार्ड देखाए ।
‘म फुटबललाई बक्सिङसँग तुलना गर्छु ।’ उनले आफ्नो दोश्रो किताब क्रिएरमा लेखेका छन्, ‘यी दुवै खेलमा एक अवस्था आउँछ, जब विपक्षीको आँखामा डर देखिन्छ । र त्यो डरको भरपुर फाइदा उठाउन सकेमात्र खेलमा हावी हुन सकिन्छ ।’
उनको दोश्रो किताब ‘क्रिएर’को अर्थ भरोसा रहेको छ । र यसले जो कोहीलाई पनि उत्साहित पार्न सक्छ ।
‘अरुलाई डर देखाउनुको उद्देश्य आफुमा डर छैन भन्ने देखाउनु हो ।’ सिमोनले लेखेका छन् ।
-बीबीसीको सहयोगमा