एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ८ सय मिलियन पाउण्डको कोष स्थापना गरेको छ ।
आईओसीको बोर्ड बैठकले कोरोनाविरुद्ध लड्न ८ सय मिलियन पाउण्डको कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकपछि आईओसीका अध्यक्ष थोमस वाचले खेल संगठनका लागि कोष स्थापना गर्नु आईओसीको कर्तव्य भएको बताए ।
'हामी आशा गर्दछौ कि हामीले ८ सय मिलियन खर्च गर्नु पर्नेछ । संगठनका लागि यो हाम्रो जिम्मेवारी हो,' उनले एएफपीसँग भने ।
कोषको रकममध्ये ६ सय ५० मिलियन पाउण्ड आईओसीका स्थगित खेलका लागि प्रयोग गरिने छ । बाँकी १ सय ५० मिलियन भने ओलम्पिक मुभमेन्ट, अन्तर्राष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरुलाई प्रदान गरिने छ ।
कोरोनाको महामारीको कारण विश्वमा ३ लाख बढी मानिसको मृत्यु भईसकेको छ ।
कोरोनाकै कारण विश्वका खेलकुद गतिविधि ठप्प रहेको छ । यसै वर्ष जापानमा तय भएको ओलम्पिक खेलकुद समेत एक वर्षका लागि स्थगित गरिएको छ ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।