काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका खेलाडी, पूर्व प्रशिक्षक तथा महिला विभाग प्रमुख हरि खड्का र अफिसियलहरुले दुर्घटनामा परेर एउटा आँखा गुमाएकी महिला फुटबल खेलाडी समिक्षा थापा मगरलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
पूर्व प्रशिक्षक तथा महिला विभाग प्रमुख खड्काले सामाजिक संजाल फेसबुकबाट समिक्षालाई ५० हजार उपचार खर्च सहयोग गर्ने बताएका छन् । उनले महिला विभाग, खेलाडी तथा अफिसियलबाट संयुक्त रुपमा उक्त रकम सहयोग गर्न लागिएको जनाएका छन् ।
विराटनगरस्थित आँखा अस्पतालमा उपचार गराईरहेकी समिक्षालाई यस अघि एन्फा र विराट सांग्रिला क्लबले आर्थिक सहयोग गरेको थियो ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
उनको आँखाको अप्रेसन गर्ने तयारी भईरहेको छ । उनको दृष्टि नफर्कने परिवार स्रोतले जनाएको छ ।
समिक्षाले एन्फाले आयोजना गरेको क्विक्स कप फुटबल समेत खेलेकी थिईन् ।