काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ३ आश्रमलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत प्रदान गरेको छ ।
एनटीएको पहलमा मुलपानीको बाल आश्रम, सुन्दरीजलको चेपाङ आश्रम र गागलफेदीको श्री ज्येष्ठ नागरिक सेवा केन्द्रलाई राहत प्रदान गरिएको हो । बाल आश्रममा ४०, चेपाङ आश्रममा २९ र केन्द्रमा ९ जना आश्रित छन् ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र व्यवसायी एवं समाजसेवी माधव मैनालीको सहयोगमा राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । आश्रमलाई दाल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, आलु, तेल र ह्यान्ड सोप प्रदान गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।
राहत वितरणमा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ का अध्यक्ष प्रकाश फुयाँल र वडा १ का अध्यक्ष मकुन्द गजुरेलको पनि उपस्थिति रहेको थियो । यसअघि एनटीएले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न ७ वडाका ८०, ललितपुर महानगरपालिकाका ४ र गोकर्णेश्वर नगरपालिका १ मा गरी ८५ परिवारलाई राहत वितरण गरेको थियो ।