एजेन्सी । न्युजिल्याण्डका ब्याट्सम्यान ब्राण्डन म्याकुलमले पहिलो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) कोलकत्ता नाइट राइडर्सबाट खेल्दै ७३ बलमा अविजित १ सय ५८ रनको विस्फोटक ब्याटिङ गरेका थिए ।
जुन खेलले म्याकुलमको खेल जीवन नै परिवर्तन गर्यो ।
पहिलो संस्करणको पहिलो खेलमा खेलेको आक्रमक इनिङ्सले आफ्नो खेल जीवन परिवर्तन भएको म्याकुलमले समेत स्वीकार गरेका छन् ।
'त्यो खेलपछिको धेरै कुरा त सम्झेको छैन । तर, त्यस रात दादा (सौरभ गांगुली) ले मलाई भनेको कुरा राम्रोसँग याद छ,' म्याकुलमले त्यो इनिङ्स सम्झदै भने, 'तिम्रो जीवन सधैंको लागि परिवर्तन भयो, त्यो बेला मैले केही बुझिन तर अहिले उनले भनेको कुरामा सहमत छु ।'
आजकै दिन शनिबार म्याकुलमले त्यो आक्रमक खेल पस्केको १२ वर्ष पुरा भएको छ । सामाजिक संजालमा सबैले उनलाई पुन:बधाई दिदै त्यस इनिङ्स सम्झिएका छन् ।
१२ औं वर्ष पार गर्दा म्याकुलम भने त्यहिँ टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।
'क्रिकेट करियरमा म कहिल्यै नर्भस भईन । तर सत्य बोल्दा त्यो समय म निकै नर्भस थिएँ,' म्याकुलमले त्यो दिनको सम्झनामा भने, 'मलाई लागेको थियो कसैलाई पनि आईपीएल कस्तो हुन्छ भन्ने थाहा थिएन । तर हामी सबैलाई सोच मन परेको थियो ।'
'त्यसले मेरो परिवारको जीवन सधैंको लागि परिवर्तन गर्दियो । र, म निकै आभारी, भाग्यमानी र धन्य छु । त्यो रात मैले जे गरे त्यसको योग्य सायद म थिइन । मैले मेरो सहकर्मी बिना यो सफलता हात पार्न सक्दिन थिएँ,' उनले भने ।
आईपीएल इतिहासको पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच थियो । टस जितेर पहिले बलिङ गरेको बैंगलोरलाई म्याकुलमको विस्फोटक ब्याटिङको मद्दतमा २ सय २३ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङ गरेको बैंगलोर १५ ओभर १ बलमा २२ रन बनाउँदा अलआउट हुँदा कोलकत्ता १ सय ४० रनले विजयी भएको थियो ।
७ लाख अमेरिकी डलरमा कोलकत्ताले किनेको म्याकुलमको त्यो इनिङ्सलाई वेष्ट इण्डिजका क्रिस गेलले सन् २०१३ को संस्करणमा तोडेका थिए । पुने वारियार्सविरुद्ध गेलले ६६ बलमा अविजित १ सय ७५ रन प्रहार गरेका थिए ।
म्याकुलमको त्यो इनिङ्सले आईपीएललाई समेत थप उचाइमा पुर्याउन केही मद्दत मिलेको थियो । क्रिकेटमा नयाँ प्रयास सुरु गरेको भारतीय क्रिकेट बोर्डको लागि आईपीएल चुनौती नै थियो ।
पहिलो खेलमा रोमाञ्चक क्रिकेट देख्न पाएका दर्शकले समेत राम्रो साथ दिए । त्यसयता आईपीएलले कहिल्यै पछाडी फर्केर हेर्नु परेको छैन ।