काठमाडौं । नेपालमा फुटबल खेल कहिले भित्रियो ? कसले भित्र्यायो ? अझै तार्किक इतिहास पाईदैन ।
तर, नेपालमा फुटबल राणाकालीन समयमा भित्रिएको मानिन्छ । इतिहासमा नरशमशेर राणाले नेपालमा फुटबल भित्र्याएको पाइन्छ।
वि. सं. १९७० मा ठमेलका नारायणनरसिंह राणा र नक्सालका सूर्यजंग थापाले फुटबल खेलेको इतिहास पाइन्छ। तर, नेपाली फुटबल इतिहासको वैज्ञानिक आधारहरु भने अझै पाईएको छैन ।
नेपाली फुटबलको इतिहास लामै भएपनि देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको नाम र इतिहास भने सहजै निकाल्न सकिन्छ ।
पाली फुटबलले कहिलै पनि राम्रो र उत्कृष्ट फिनिसर पाएन भनिन्छ । त्यसैले होला नेपाली फुटबलले विपक्षी टिममाथि धेरै गोल गर्न कहिल्यै पाएन । तर, नेपालले १७ गोलसम्म व्यहोरेको इतिहास छ ।
नेपालले विपक्षीलाई सबैभन्दा धेरै गोल गरेको ५ गोल हो । नर्दन मारियाविरुद्धनेपालले ५ गोल गरेको थियो । त्यस क्रममा भरत खवासले ह्याट्रिक समेत पुरा गरेका थिए ।
नेपालका लागि सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा आउँछन् निराजन रायमाझी र हरि खड्का । दुवै खेलाडीले १३–१३ गोल गरेका छन् । यसपछि आउँछन् जुमानु राई । उनले ११ गोल गरिसकेका छन् ।
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरु कति छन् ? उनीहरुको चर्चा तल गरिएको छ ।
हरि खड्का
हरि खड्का अर्थात नेपाली फुटबलका सर्वाधिक गोलकर्ता । उनले ११ वर्षे करियरमा नेपालको राष्ट्रिय टिमबाट १३ गोल गरेका छन् ।
सन् १९९५ मा राष्ट्रिय टिमबाट खेल्न सुरुवात गरेका हरिले सन् २००६ सम्म खेलेको थिए । त्यसक्रममा उनले ४१ क्याप जितेका थिए ।
तत्कालिन समय हरि नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने गर्थे । अहिले भने हरि मैदान बाहिर पनि उत्तिकै सक्रिय रहेका छन् । एएफसी 'ए' लाईसेन्स गरेका हरिले राष्ट्रिय महिला टिम दुई वर्ष हेरेका थिए । उनी अहिले महिला प्रशासन विभागका प्रमुख रहेका छन् ।
निराजन रायमाझी
हरि खड्कासँगै १३ गोलको कीर्तिमान निराजन रायमाझीसँग रहेको छ । तर, निराजनले भने छोटो समयमै त्यो उपलब्धि हासिल गरे ।
सन् २००२ बाट राष्ट्रिय टिमको डेब्यु गरेका निराजनले २० क्याप मात्रै जितेका छन् । उनले सन् २०१० सम्म नेपाली राष्ट्रिय टिमको जर्सी लगाए । निराजन फिफा विश्वकप छनोटमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत हुन् ।
उनले मकाउविरुद्ध ह्याट्रिक गरेका छन् । मैदानभित्र निकैनै सक्रिय रहेका निराजन बाहिर भने निष्क्रिय रहेका छन् । एक प्रकारले भन्दा उनी हराएको जस्तै भएका छन् ।
जुमानु राई
जुमानु राईले सन् २००५ बाट राष्ट्रिय टिमबाट खेल्न सुरुवात गरेका थिए । ब्रुनाईविरुद्ध जुमानुले पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पाएका थिए । तर, सन् २०१५ बाट उनले राष्ट्रिय टिमको जर्सी लगाउन पाएका छैनन् ।
नेपाल पुलिसको कप्तान समेत रहेका स्ट्राइकर जुमानुले हाल टिमबाट बाहिर रहेपनि सन्यास लिने अवसर पाएका छैनन् । जुमानुको नाममा ११ गोल रहेको छ । जुन सर्वाधिक गोलभन्दा २ गोलले पछि हो । जुमानुले अन्तिम पटक भारतविरुद्ध अवे खेलमा नेपालको जर्सी लगाएका थिए ।
भरत खवास
भरत खवासले सन् २००८ बाट नेपाली राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् । तत्कालिन समय नेपालले पोखरामा पाकिस्तानविरुद्ध २ मैत्रीपूर्ण खेल खेलेको थियो । भरतले आफ्नो डेब्यु खेलमै गोल गरेका थिए ।
आर्मी क्लबका कप्तान समेत रहेका भरतले नर्दन मारियाविरुद्ध ह्याट्रिक गरेका थिए । भरतले साउथ एसियन प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध २ गोल गरेका छन् । यस्तै अफगानिस्तान, बंगलादेश, जोर्डन, ब्रुनाई र भुटानविरुद्ध १–१ गोल गरेका छन् ।
राष्ट्रिय टिमका लागि उनले १० गोल गरिसकेका छन् । भरत १३ गोलको रेकर्ड तोड्ने योजनामा रहेका छन् ।
अनिल गुरुङ
पछिल्लो समय राष्ट्रिय टिमबाट सुखद विदाई पाएका एक मात्रै खेलाडी हुन् अनिल गुरुङ । अनिलले सन् २००६ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । फिफा विश्वकप २०१० छनोट अन्तर्गत ओमानविरुद्ध डेब्यु गरेका अनिलले सन् २०१७ फिलिपिन्ससँगको खेलसँगै राष्ट्रिय टिमबाट विश्राम लिएका थिए ।
१० वर्षे अन्तराष्ट्रिय फुटबल यात्रामा उनले ९ गोल गरेका छन् । नेपाली राष्ट्रिय टिमको कप्तान समेत रहेका अनिलले नर्दन मारिया, भुटान र अफगानिस्तासँग समान २ गोल गरेका थिए भने पाकिस्तान, बंगलादेश र भारतविरुद्ध १–१ गोल गरेका थिए ।
विमल घर्ति मगर
एन्फा एकेडेमीका उत्पादन विमलले १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका थिए ।
सन् २०१२ बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपाली टिमबाट डेब्यु गरेका विमलले सन् २०१३ पाकिस्तानविरुद्ध गोल गर्दै सनसनी मच्चाएका थिए । त्यसयता उनले नेपाली टिमबाट ८ गोल गरिसकेका छन् ।
विमलले पाकिस्तानविरुद्ध २ गोल गरेका छन् भने भारत, श्रीलंका, ब्रुनाई, लाओस्, तुर्केमिनिस्तान, र बंगलादेशविरुद्ध १–१ गोल गरेका छन् ।