एजेन्सी । टी-ट्वान्टी क्रिकेट सन् २००३ मा सुरुवात भएको हो । तर, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) भने टी-ट्वान्टी क्रिकेटको पक्षमा थिएन ।
टी-ट्वान्टी फर्म्याटलाई आत्मसात गर्न भारतलाई करिब ३ वर्ष लाग्यो । भारतले सन् २००६ डिसेम्बर १ मा पहिलो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो ।
सन् २००६ मा दक्षिण अफ्रिका भ्रमणमा रहेको बेला भारत र दक्षिण अफ्रिकाको चौथो र पाँचौं एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको बीचमा एक खेल खेलाईएको थियो । जुन खेल भारतको लागि डेब्यु टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल बन्यो ।
खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्यो र घरेलु टिमलाई ६ विकेटले पराजित गर्यो ।
दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै १ सय २६ रन बनायो । भारतका दिनेश कार्तिकले म्यान अफ द म्याच प्रदर्शन गरेपछि अन्तिम २ बल बाँकी रहदा भारतले लक्ष्य पुरा गर्यो ।
भारतले खेलेको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको ५ रोचक तथ्यको चर्चा तल गरिएको छ । जुन तपाइँलाई थाहा नहुन सक्छ ।
१. टी-ट्वान्टी अन्तर्राष्ट्रियको पहिलो कप्तान विरेन्द्र सेहवाग
सन् २००६ को दक्षिण अफ्रिका भ्रमणको मुख्य कप्तान राहुल द्रभिड थिए । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा समेत उनले नै कप्तानी गर्ने तय थियो । तर, दुर्भाग्यवस तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको क्रममा द्रभिड घाइते भए र सिरिजबाट बाहिरीए ।
द्रभिड टिमबाट बाहिरिएपछि विरेन्द्र सेहवागले कप्तानी गरेका थिए । त्यो नै सेहवागले कप्तानी गरेको पहिलो र अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो ।
२. दिनेश मोन्गीयाको पहिलो र अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल
सन् २००० को समयमा दिनेश मोन्गीयालाई भारतको भविष्यको स्टार मानिन्थ्यो । उनले सौरभ गांगुलीको कप्तानीमा नियमित क्रिकेट खेल्दै आएका थिए । सन् २००३ को विश्वकपमा उपविजेता बनेको भारतको टिममा समेत दिनेश रहेका थिए ।
तर उक्त खेल पछि दिनेश हराउँदै गए । भिभिएस लक्ष्मण तथा अन्य युवा खेलाडी जस्तै धोनी, मोहमद कैफ, युवराज सिंह जस्ता खेलाडीले विस्थापित गर्दै आएको कारण उनले राष्ट्रिय टिममा स्थान बनाउन असफल रहे ।
३. अजित अगरकरको मेडेन ओभर
अजित अगरकर २००० दशकको स्टार बलर हुन् । दायाँ हाते तीव्र गतिका बलर अगरकरले उक्त खेलमा मेडेन ओभर बलिङ गरेका थिए ।
टी-ट्वान्टी खेलमा दुर्लभ मानिने मेडेन ओभर फालेका अगरकरले २ ओभर ३ बलमा २ विकेट लिएर १० रन खर्चेका थिए । उनले हर्स्चेल्ले जिब्स र एबी डी भिलियर्सको विकेट लिएका थिए ।
४. दुई बलमा धोनी डक आउट
सिरिजमा धोनीबाट ठुलो अपेक्षा गरिएको थियो । किनकी उनले सो बेला भारतीय टेष्ट र एकदिवसीय टिममा उनले नियमित स्थान बनाउँदै आएका थिए ।
त्यसैले टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा समेत धोनीको विस्फोटक ब्याटिङको अपेक्षा थियो । तर, खेलमा चौथो स्थानमा ब्याटिङ गर्न आएका धोनी २ बल खेल्दा विना कुनै रन बनाउँदा आउट भए ।
त्यसको ठिक १० महिना पछि धोनीको नेतृत्वमा रहेको टिमले त्यही स्थानमा सन् २००७ को टी-ट्वान्टी विश्वकप जितेको थियो ।
५. सचिनको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट
सचिन एक उत्कृष्ट ब्याट्सम्यानसंगै किफायती बलर समेत हुन् । उनले १ सय ५४ एकदिवसीय विकेट र ४६ टेष्ट विकेट लिन सफल छन् । टिमलाई आवश्यक परेको बेला सचिनले राम्रो लेग स्पिन बलिङ गर्थे ।
त्यस खेलमा अजित अगरकरले गरेको अपूर्ण बलिङलाई पूर्णता दिन सचिनले बलिङ गर्नु परेको थियो । सचिनले ओभर सकाउन बलिङ मात्र गरेनन् उनले विकेट समेत लिन सफल रहे ।
सचिनले जस्टिन कम्पको महत्वपूर्ण विकेट लिंदै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो र अन्तिम विकेट लिन सफल भए । खेलमा उनले २ ओभर ३ बल गर्दा १२ रन खर्चेर १ विकेट लिएका थिए ।