एजेन्सी । अष्ट्रेलियाका पूर्व अलराउण्डर शेन वाट्सनले भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी र स्टेफिन फलेमिङप्रति आफु आभारी रहेको बताएका छन् ।
खराब लयमा गुज्रिरहेको समयमा पनि आफुलाई विश्वास गरेकोमा वाट्सनले उनीहरुप्रति आभार ब्यक्त गरेका हुन् ।
उनले भारतीय फ्रेन्चाइज क्रिकेट टिम चेन्नई सुपर किङ्ग्स (सीएसके) को सफलताको राज उसले गर्ने खेलाडीको पहिचान रहेको पनि बताए ।
'यदी तपाई १० खेलमा समेत रन बनाउन सक्नु हुन्न तर अझै तपाई टिममा हुनु हुन्छ,' ३८ वर्षे वाट्सनले सीएसकेको इन्स्टाग्राममा लाइभ भने, 'गत सिजन म माथि भरोसा राखेकोमा धोनी र फ्लेमिङलाई धन्यबाद ।'
वाट्सन सन् २०१८ मा सीएसकेमा आबद्द भएका थिए । त्यसअघी उनी राजस्थान रोयल्सबाट आईपीएल खेल्दै आएका थिए ।
वाट्सनले सन् २०१८ मा सनराइजर्स हैदराबादविरुद्ध फाइनलमा १ सय १७ रनको तुफानी इनिङ खेल्दै सीएसकेलाई उपाधि जिताएका थिए ।
यस्तै वाट्सनले पछिल्लो सिजनको फाइनलमा मुम्बई इण्डियन्सविरुद्ध ५० बलमा ८० रनको सानदार इनिङ्स खेलेका थिए तर जित दिलाउन भने सफल रहेनन् ।
'त्यस समय दुर्भाग्यवश मलाई लाग्यो कि म राम्रो ब्याटिङ गर्दै थिए । यद्दपी मैले रन बनाउन सकिरहेको थिइन् तर म टिममा नै थिएँ,' उनले थपे, 'धेरै खेलमा असफल हुँदा मलाई टिमबाट हटाउन सक्छन् जस्तो लागेको थियो तर उनीहरुले यस्तो गरेनन् ।'
'पछी सबै परिवर्तन भयो जुन मैले सोचेको थिएँ । यसको लागि फ्लेमिङ र धोनीलाई धन्यबाद दिन चाहान्छु जसले म माथि विश्वास गरे,' उनले थपे, 'त्यसैको कारण (२०१८ को उपाधि) मैले १० फिट अग्लो बनाइदियो । लिडरसिपको यही सानदार तागत हो ।'