काठमाडौं । २०७६ साल नेपाली भलिबलका लागि ऐतिहासिक रह्यो । राष्ट्रिय महिला टिमले एभीसी सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ऐतिहासिक सफलता प्राप्त गर्यो ।
सेन्ट्रल जोनमा नेपालले ऐतिहासिक स्वर्ण पदक हात पार्यो भने साग खेलकुदमा ऐतिहासिक रजत पदक ।
दुवै पदक नेपालको महिला भलिबलले प्राप्त गरेको ऐतिहासिक सफलता हो । भलिबलको भावी पुस्ताले समेत यस सफलतालाई गौरवका साथ आत्मसाथ गर्नेछ ।
मैदान बाहिर समेत भलिबल खेललाई सफलता प्राप्त भएको छ । भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिन सरकार तयार भएको छ । योसंगै भलिबल नेपालको आधिकारिक राष्ट्रिय खेल बनेको छ । दिर्घकालिन रुपमा भलिबलको विकास र समृद्विमा सरकारको मान्यताले ठुलो अर्थ राख्नेछ ।
वर्ष २०७६ मा नेपालको भलिबलमा केही महत्वपूर्ण परिवर्तन भएका छन् । राष्ट्रिय महिला टिममा आएको परिवर्तनसंगै दुई ठुला महिला खेलाडीले गम्भिर चोट बोक्न पुगेका छन् । यसले राष्ट्रिय महिला टिमको प्रर्दशन र नतिजामा धेरै प्रभाव पार्ने देखिन्छ ।
महिला टिमले एकपछि अर्को सफलता प्राप्त गरिरहदाँ पुरुष टिमले भने निराशाजनक नतिजा आत्मसाथ गर्यो । घरेलु भूमीमै भएको एभीसी सेन्ट्रल जोन र साग खेलकुदमा पुरुष टिमले समूह चरण समेत पार गर्न सकेन ।
नयाँ अनुहार -
यस वर्ष महिला भलिबल टिममा ठूलो परिवर्तन गरियो । सेन्ट्रल जोन तथा सागकालागि छनोट गरिएको प्रारम्भिक टिममा पुराना खेलाडीलाई प्रारम्भिक टोलीमै राखिएन । कप्तान र उपकप्तानकै प्रारम्भिक छनोटमा परेनन् ।
कप्तान बिनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, नेबिका चौधरी, मनिषा चौधरी, कोपिला उप्रेती र कृपा अधिकारीलाई बाहिर राख्दै भलिबल संघले प्रारम्भिक राष्ट्रिय टिम घोषणा गर्यो ।
सेन्ट्रल जोन खेल्ने टिममा ६ नयाँ अनुहार सलिना श्रेष्ठ, पुनम चन्द, सुनिता खड्का, जानकी भण्डारी, निरुता ठगुन्ना र सोफिया पुनले स्थान बनाए । सागको टिममा उषा भण्डारी र हिरा केसी पनि परे ।
नयाँ अनुहारले राष्ट्रिय टिममा आफुलाई निराश बनाएनन् । उनीहरुकै प्रर्दशनमा नेपालले सेन्ट्रल जोन र सागमा ऐतिहासिक पदक जित्न सफल रह्यो ।
अन्तर्राष्ट्रिय सफलता -
महिला भलिबल टिमले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पहिलोपटक ऐतिहासिक स्वर्णपदक जित्यो । अन्र्तराष्ट्रिय प्रतियोगितामा कास्यमै सिमित रहदै आएको महिला टिमले भलिबल ईतिहासमा पहिलो पटक स्वर्णपदक जितेको हो ।
लगत्तै घरेलु भूमिमा भएको सागमा रजत जितेर नेपालले दक्षिण एसियाली भलिबलमा आफुलाई उदाउँदो शक्तिको रुपमा परिचित गर्यो । महिला भलिबलमा निकै बलियो टिम भारतसँग ३–२ ले खेल गुमाएपनि नेपालले पहिलो पटक कडा चुनौती पस्किन सफल रह्यो ।
चोटको समस्या -
०७६ को माघमा महिला भलिबल टिमकी मुख्य स्पाईकर प्रतिभा मालीले चोट बोकिन् । काठमाडौंमा भएको क्लब च्याम्पियनसिप खेल्ने क्रममा उनी घाईते हुन पुगेकी थिईन् ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आरबीबी कपको फाइनल खेल दौरान उनको घुँडामा चोट लाग्यो । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भयो । उनी करिब एक बर्ष मैदान फर्कन नसक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यसको प्रत्यक्ष असर प्रतिभाको क्लब न्यु डाइमण्डमा देखिएको छ । प्रतिभा बिना तीन प्रतियोगिता खेल्न उत्रिएको न्यु डाइमण्डले उपाधि दाबेदारिता प्रस्तुत गर्न सकेन ।
लगत्तै राष्ट्रिय टिमकी अर्की मुख्य स्पाइकर सरस्वती चौधरीले समेत चोट बोकिन् । फागुनमा पर्वतको बेनीमा आयोजना भएको दिदीबहिनी कपको फाइनल खेलमा उनको दायाँ खुट्टामा चोट लाग्न पुग्यो । सरस्वतीले केही महिना आराम गर्नुपर्ने बताईएको छ ।
चोटका बाबजुत सरस्वतीले एपीएफलाई दिदीबहिनी कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिईन् । उनी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पनि बनिन् ।
यसैगरी राष्ट्रिय टिमकी पूर्व खेलाडी नेबिका चौधरी पनि घाइते बनिन् । ढाँडमा देखिएको समस्या र दाँया खुट्टामा लागेको चोटले उनी आराममा छिन् । ढोरपाटन महिला भलिबलको समापनसँगै आराममा रहेकी नेबिकाले केही महिना मैदान बाहिर रहनुपर्नेछ ।
घाइते सूचीमा राष्ट्रिय टिमकी पूर्व कप्तान बिनिता बुढाथोकी पनि थपिएकी छिन् । एपीएफकी कप्तान समेत रहेकी बिनिता नेपालगञ्जमा भएको पीएम कपको फाइनल खेलको दौरान घाइते भएकी थिईन् । उनको दाँया खुट्टाको मांसपेशी च्यातिएको छ ।
लगत्तै उनको सफल शल्यक्रिया समेत भयो । उनलाई खेलमा फर्किन कम्तिमा ६ महिना लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रतियोगिताको चाप -
खेलाडीका लागि प्रतियोगिताले निकै महत्व राख्छ । आफ्नो स्तरको जाँच गर्न र प्रर्दशनमा सुधार गर्न प्रतियोगिताले मदत गर्छ । तर प्रतियोगिताको संख्या धेरै हुदा खेलाडीलाई घाटानै पुर्याउने देखिएको छ । जसको प्रत्यक्षमारमा महिला भलिबल खेलाडीहरु परेका छन् ।
पछिल्लो समय धेरै महिला खेलाडीले चोट बोकेका छन् । कोही आराममा छन् । यसवर्ष मात्र भलिबलका चार खेलाडी घाइते भए, जसको मुख्य कारण लगातारको प्रतियोगिता हो ।
माघ महिनामा मात्र दुई प्रतियोगिता भए । ढोरपाटन महिला डबल लिग र आरबीबी कप ।
यस्तै, फागुन महिनामा पनि समान दुई प्रतियोगिता भयो, दिदीबहिनी कप र पीएम कप ।
यसले खेलाडीलाई आराम गर्ने फुर्सद छैन । सामान्य चोट लाग्दा समेत खेलाडीले रिकभर हुने समय पाएका छैनन् । फिट नहुदा समेत प्रतियोगिता खेल्नुपर्ने बाध्यता खेलाडीलाई छ ।
राष्ट्रिय स्तरका खेलाडी भएर पनि सामान्य स्थानीय कप, क्लब स्तरीय प्रतियोगिता खेल्नपर्ने बाध्यता छ । जसले खेलाडीहरु घाइते हुने क्रम बढ्दो छ । सम्बन्धित निकायले ध्यान नपुर्राए भलिबलले अझ ठूलो घाटा ब्यहोर्नुपर्ने देखिएको छ ।