एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्डेया र कुर्नाल पाण्डेया दाजुभाइ हुन् । दुवै खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।
दाजु हार्दिक भारतीय टिममा मुख्य अलराउण्डर हुन् ।
तर, क्रिकेटको सुरुवाती समयमा भने यी दाजुभाइले निकै संघर्ष गर्न परेको थियो । सुरुवाती समय मात्र नभएर यी खेलाडीले रणजी ट्रफी खेल्ने खेल्दा समेत दुवै जनाले एकै ब्याट प्रयोग गर्ने गर्थे ।
'ब्याट निकै महँगो हुन्थ्यो । एउटा राम्रो विलो ब्याटलाई ७-८ हजार पर्थ्यो,' आफ्नो आर्थिक संघर्षको कुरा गर्दै कुर्नालले भने, 'रणजी ट्रफी खेल्दा समेत हामीसँग ब्याट थिएन । इरफान पठानले हार्दिकलाई एउटा ब्याट दिएका थिए, त्यसपछि बल्ल मैले ब्याट पाएँ ।'
अहिले दुई खेलाडी आलिसान जीवन बिताए पनि दाजुभाइले यो स्थानसम्म आउँ निकै मेहनत गरेका छन् ।
'मुम्बईविरुद्धको खेल थियो । हार्दिकको एक मात्र ब्याट भाँचिएको थियो । त्यो बेला हार्दिक तेस्रो नम्बरमा ब्याटिङ गर्थे, म अन्त्यतिर आउथें,' कुर्नालले थपे, 'चौथो दिनसम्म हार्दिकले मेरो ब्याटले खेल्यो । मेरो ब्याटिङ पालो आउँदा सम्म हार्दिक मैदानमा थियो । त्यसैले मैले साथीलाई अतिरिक्त रहेको ब्याटको लागि आग्रह गरे, त्यो पल निकै लजास्पद थियो । त्यसपछि हामीले ब्याटिङ गर्न पाएका थियौं । रणजी खेल्दा सम्म हाम्रो लागि ब्याट बहुमूल्य थियो ।'
यस्तै, कुर्नालले सन् २०१६ सम्म रंगशालामा क्रिकेट हेरेका थिएनन् ।
'सन् २०१६ मा काँधको चोट जचाउन मुम्बई गएको थिएँ । त्यसैबेला हार्दिकले रंगशाला बोलाएर खेल हेर्न भन्यो । त्यो नै मैले रंगशालामा क्रिकेट हेरेको पहिलो खेल थियो,' आईपीएल यात्रा बारे कुर्नाल भन्छन्, 'त्यसको अर्को वर्ष, त्यही रंगशालामा मैले मुम्बई इण्डियन्सबाट आईपीएल डेब्यु गरे । मेरो लागि त्यो समय निकै भावुक थियो ।'
आईपीएलको दुई संस्करण खेलेपछी कुर्नालले वेष्ट इण्डिजविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
'म ६ वर्षको हुँदा देखी भारतको प्रतिनिधित्व गर्न चाहान्थें । अन्तत: मैले मेरो डेब्यु क्याप पाएँ,' कुर्नाल भन्छन्, 'त्यो समय अविश्वसनीय थियो । अहिले समय निकै फरक छ । क्रिकेटले हाम्रो जीवनमा ल्याएको परिवर्तन आस्चर्य लाग्दो छ ।'