एजेन्सी । अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले भारतीय कप्तान विराट कोहली क्रिकेटका हस्ती सचिन तेन्दुलकर जस्तै शतकको लागि भोको रहेको बताएका छन् ।
यस्तै क्लार्कले सचिनसँग ब्याटिङ गर्ने उत्कृष्ट कला रहेको कारण उनलाई आउट गर्न सहज नरहेको समेत बताए ।
क्लार्कले आफ्नो समयमा सचिन जस्तो दिग्गज ब्याट्सम्यान आफुले नदेखेको बताए ।
'अहिले सम्म मैले देखेको ब्याट्सम्यान मध्ये सायद सचिनको जस्तो टेक्निक कुनैमा छैन ।' क्लार्कले भने, 'सचिन यस्तो खेलाडी थिए जसलाई आउट गर्न निकै कठिन हुन्थ्यो ।'
'मलाई लाग्छ टेक्निकको हिसाबमा सचिनमा कुनै कमजोरी थिएन ।' उनले थपे, 'तपाई सचिनले गलत गर्ने आशामा बस्नु बाहेक अरु केहि गर्न सक्नु हुन्न थियो ।'
यस्तै क्लार्कले भारतीय कप्तान विराट कोहलीको समत चर्चा गरेका छन् । उनले अहिलेको क्रिकेटमा विराट सर्वोत्कृष्ट ब्याट्सम्यान रहेको समेत बताए ।
'मलाई लाग्छ विराट अहिलेको समयमा सबै गुणले सर्वश्रेष्ठ ब्याट्सम्यान हुन् ।' क्लार्कले भने, 'टी-ट्वान्टी र एकदिवशीयमा उनको रेकर्ड राम्रो छ । टेष्टमा समेत आफ्नो प्रभुत्व जमाउने तरिका खोजिरहेका छन् । कोहली र सचिनमा एक समानता भनेको दुवैलाई शतक बनाउन मन पर्छ ।'