काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले कोरोना भाईरसको कारण लकडाउनमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि अनलाइनबाट मनोवैज्ञानिक कक्षा संचालन गर्ने भएको छ ।
एनओसीले शुक्रबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रबृद्धि पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग भिडियो कन्फरेन्स छलफल गर्दै मनोवैज्ञानिक कक्षा संचालन गर्ने निर्णय गरेको हो
एनओसीले आइतबारबाट खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा संचालन गर्ने जनाएको छ ।
एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरुलाई केहि समस्या परेको भएको सामाधान समेत गर्ने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको बताए ।
‘खेलाडी र कोचका लागि दैनिक सुचीसमेत तयार गरेर फलोअप गर्ने निस्कर्ष निकालेका छौंं । त्यसैगरी पोषणविदहरुसँग नियमित सम्पर्क गराएर खेलाडीको खेल अनुसारको डाइट दिनेलगायतको कार्य शुरु हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।
कोरोनाको कारण सरकारले नेपालमा गत ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता खेलाडीहरु घरभित्रै रहेका छन् । जसका कारण उनीहरुलाई मानसिक, शारिरिक रुपमा फिट राखि राख्नका लागि ओलम्पिक विभिन्न चरणमा भिडियो कन्फरेन्समार्फत छलफल गरी शुक्रबार खेलाडी र प्रशिक्षकसँग छलफल गरेको हो ।
यस्तै एनओसीले बनाएको डाक्टरको प्यानलले क्लोज मनिटरीङ्ग गर्ने छन् । त्यस्तै काम भए नभएको अनुगमन गर्नका लागि समेत तीन सदस्य समिति गठन गरिएको छ । नियमन गर्ने टिममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा डाइरेक्टर चतुरानन्द बैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ रहेका छन् ।
खेलाडीसँगको छलफलमा अध्यक्ष श्रेष्ठले यो समय भयभित नभइ होशियारीपूर्वक घरमा बस्ने समय भएको बताएका थिए । उनले ओलम्पिक २०२१ को २३ जुलाई देखि ८ अगष्टसम्म हुने भएकाले समय अवधि लम्बिएकोले यसलाई अवसरका रुपमा लिएर अघि बढ्न समेत सुझाब दिएका थिए । ओलम्पिकका लागि खेलाडीको नामावली दर्ताको मिति ५ जुलाईसम्म रहेको छ ।
छलफलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउन थालिएको जानकारी गराएका थिए ।
ओलम्पिक दिपक विष्टले खेलाडीले जस्तो परिस्थितिमा पनि अभ्यास गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । खेलाडीहरुले घरमै बसेर अभ्यास गरिरहेको र समाजिक दायित्व पुरा गर्ने काम समेत भइरहेको जानकारी गराएका थिए ।
छलफलमा कीर्तिमानी किर्तिमानी पौडी खेलाडी गौरिका सिंहको समेत सहभागिता थियो । उनले कोचसँग अनलाइनमार्फत छलफल गरेर घरभित्रै ट्रेनिङ्ग गरिरहेको बताइन् ।