काठमाडौं । भित्तामा ७९ पदक झुण्डिएका छन् । सात खेलमा पाएका ४ वटा रजत र कास्य बाहेक बाँकी सबै स्वर्ण हुन् ।
कोठामा सजिएका पदकले पारा खेलाडी राजु कटुवालले मेहनतलाई देखाउँछ । सुरुवातको ८ वर्षमा राजुले प्राप्त गरेको सफलताले सबैलाई अचम्मित बनाउन सक्छ ।
बास्केटबल, पौडी, तेक्वान्दो, ट्रायथलन, क्रिकेट, व्हिल चियर म्याराथन, भारात्तोलन जस्ता खेलमा अब्बल रहँदै राष्ट्रिय कीर्तिमान बनाएका राजु हरेकका लागि प्रेरणाको स्रोत बन्न सक्छन् ।
राजु ओखलढुङ्गामा जन्मिए । सानै उमेरदेखि आर्मीमा जागिरे हुने रहर थियो । गाउँको परिवेशनै पनि त्यस्तै थियो । टोलका जवान युवा फौजमा जागिरे थिए ।
उनी १८ वर्षको उमेरमा आर्मी बन्ने सपना बोकेर इटहरी झरे । पहिलो प्रयासमा सफल पनि भए ।
भर्तीसंंगै उनले आधारभुत ट्रेनिङ लिए । उनको पोस्टिङ हेटौडामा भयो । फौजीको जीवन हाँसी खुसीनै चलेको थियो ।
एक दिन अभ्यासको क्रममा उनी घाइते हुन पुगे । केही उचाइबाट खसेका उनलाई असह्य पिडा भयो । घटना लगत्तै उनको दाईने खुट्टा चल्न छाड्यो ।
पल्टनले तत्काल उनलाई काठमाडौँ पठाउने भयो । राजधानी आगमनसंगै उनमा थप बज्रपात थपियो ।
दक्षिणकालीबाट काठमाडौं आउने बाटो खराब थियो । उनको चोट अझ गहिरो बन्यो । उनको स्पाईनल कडमा खराबी देखियो ।
चोटको पिडासंगै उनलाई ज्वरो आउन थाल्यो । समयमै अपरेसन गर्न नपाउँदा चोट झन बल्झियो ।
दिन बित्यो, हप्ता बित्यो, महिना हुँदै बर्ष बित्यो तर उनी पुरानो अवस्थामा फर्कनै सकेनन् ।
उनको कम्मर मुनीको भाग नचल्ने भयो ।
फौजका एक तन्दुरुस्त नौजवान अब व्हील चियरको साहारामा हिड्न पर्ने भयो ।
दैनिकी एकाएक बदलियो । परिवर्तित दैनिकी पीडादायी थियो । सहन सक्ने अवस्था थिएन । तर विकल्प पनि थिएन ।
व्यक्तिगत जिवनसंगै समाजिक सम्बन्ध पनि बदलिदै गए ।
नजिकका मान्छे विस्तारै टाढिन थाले । हेला गर्न थाले ।
बदलिदो परिवेशले राजु डिप्रेसनको नजिक पुगे । आफैसंग हारेको जस्तो ।
समयलाई कसरी चुनौती दिने, उपाय विहिन थिए । बिवस्ताले बिस्तारै निल्दै थियो ।
तर, उनी हार मान्न तयार थिएनन् ।
देशको माटोको रक्षाका लागि शपथ खाएका उनी राष्ट्रका लागि केही गर्न चाहन्थे ।
विकल्प खोजिरहेका थिए । उपायहरु दिमागमा खेलाउँदै थिए । उनका नजिकका दाई थिए, हिमाल आर्याल ।
उनै हिमालले खेलकुद क्षेत्रमा लाग्न सुझाए ।
राजुले पारा खेलकुदमा बास्केटबलबाट करियरको सुरुवात गरे । तर उनका लागि बास्केटबल नयाँ थियो । उनले सिक्न थाले । विस्तारै जोस र जाँगर भरिन थाल्यो ।
बिस्तारै उनी पौडिन पनि सिक्न थाले । उनले गाउँ घरको खोलामा राम्रोसंग पौडिन सिकेका थिए । पौडिन उनलाई मुस्किल भएन ।
उनले सन् २०१० मा चीनमा भएको एसिया कप पौडीमा पहिलो सहभागिता जनाए । त्यहाँ उनले स्वर्ण पदकै जिते ।
पदकले थप हौसला मिल्यो । कोरिया, जापान जस्ता देशमा प्रतियोगिता खेल्न तथा प्रशिक्षणका लागि जाने मौका पाए ।
राष्ट्रिय प्रतियोगितामा आर्मीको प्रतिनिधित्व गर्दै उनले लगातार ६ बर्ष पारा खेलकुदमा एकछत्र राज गरे । उनले बास्केटबल, तेक्वान्दो, ट्रायथलन, क्रिकेट, व्हिल चियर म्याराथन, भारात्तोलनका राष्ट्रिय स्पर्धामा लगातार स्वर्ण पदक जिते ।
घरेलु खेलकुदमा प्राप्त सफलताले राजु अझ सन्तुष्ट छैनन् । अब उनी नयाँ खेल आर्चरी र ब्याडमिन्टनमा लागेका छन् ।
’मेहनत गर्दै छु । एक दिन सफलता हात पार्नेमा विश्वास छ ।’ उनी भन्छन् ।
खेलकुदले दिएको परिवर्तन
घाइते भएर अस्पतालबाट घर फर्कंदा समाजले गर्ने ब्यवहार परिवर्तन भैसकेको थियो । छर–छिमेक रोग सर्छ भन्ने छि–छि र धुर–धुर गर्थे । चोट देखेर घिन मान्थे । रोग सर्छ भन्थे ।
खेलकुदमा लागेपछि उनले जिवन परिवर्तनको अनुभुती गर्न पाए । खेलकुदबाट आफु र आफु जस्तै अशक्त व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको राजुको अनुभव छ ।
’अहिले बिभिन्न खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्सीमा देख्दा सम्मानपुर्वक हेर्ने गर्छन,’ खुसीका साथ राजुले एक बसाईमा भने, ’जसले छुन डराउथे, उनीहरु मलाई हेरेर प्रेरणा लिने गरेका छन् । धाप दिने गरेका छन् ।’
परिचित अनुहारहरु राजुलाई अन्तराष्ट्रिय खेलाडीको रुपमा सम्मान गर्ने गरेका छन् । उनी आफ्नो प्रेरणाको स्रोत भने विभाग र परिवारलाई मान्छन् ।
‘पहिलो प्रेरणा भनेको नेपाली सेनानै हो । सेनाले मलाई सुरुवाती समयमा हौसला, सेवा सुविधा नदिएको भए खेल क्षेत्रमा हुँदैन थिए ।’ उनी भन्छन्, ‘दोस्रो प्रेरणा भनेको परिवार हो । उहाँहरुले सहयोग नगर्नु भएको भए पनि यो स्थानमा हुँदैन थिए ।’
सबै भन्दा खुसीको क्षण
२०५९ सालमा राजुको कप्तानीमा उनको विद्यालय बिरेन्द्र शिल्ड भलिबलमा तेस्रो भएको थियो । सानो उमेरमा आफ्नो नेतृत्वको टिमले १० हजार नगद, २ थान नेट र २ थान बल प्राप्त गरेको क्षणले उनलाई आजपनि उत्तिकै खुसी दिन्छ ।
अशक्त भएपछि सन् २०१७ मा भएको त्रिदेशीय (भारत, बंगलादेश र नेपाल) व्हील चियर क्रिकेटमा नेपाल च्याम्पियन बन्यो । सम्मान स्वरुप सरकारले जनही १ लाख रुपैयाँ सहित खेलाडीलाई सम्मान गर्यो । सो क्षण राजुलाई खेलकुद क्षेत्रबाट पाएको सबैभन्दा खुसीको क्षण लाग्छ ।
दुखको क्षण
सन् २०१६ को विश्व पौडी च्याम्पियनमा भाग लिन राजुले स्कटल्याण्डको भिसा प्राप्त गरेका थिए । प्रतियोगितालाई लिएर उनी निकै खुसी थिए । विश्व पौडी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न पाउने कुराले उनको मन तरंगित बनाएको थियो ।
दुतावासमै उनले फाईल खोलेर प्राप्त भिसा पनि हेरेका थिए । खुसीका साथ फाइल काखमा राखेर व्हील चियर गुडाउँदै उनी घरतर्फ निस्किए । साट्नका लागि पैसा उनले त्यही फाइलमा राखेका थिए । तर दुर्भाग्य बीच बाटोमै उनको पासपोर्ट र पैसा झरेछ । राजुलै थाहै पाएनन् ।
जब उनले फाईल आफुबाट हराएको थाहा पाए, आकाशबाट खसे जस्तो भए । पासपोर्ट भेटिने आशमा राजुले त्यो बाटो धेरैपटक ओहर–दोहर गरे । तर अह, निराशा बाहेक केही हात लागेन ।
विश्व समुदायमाझ नेपाली भण्डा लिएर देशको प्रतिनिधित्व गर्ने अवसर सानो गल्तीले गुमाउन पुगे । त्यहीनै उनको जिवनको सबैभन्दा दुखको क्षण हो ।
अपाङ्गमैत्री पूर्वाधार नहुँदा पीडा
नेपालमा खासै अपाङ्ग मैत्री बाटो छैन, भवन र खेल पूर्वाधार छैनन् । सोही कारण पारा खेलाडीले धेरै समस्या भोग्नु परेको राजुको गुनासो छ । अब बन्ने खेल स्थान, भवन र बाटो अपाङ्ग मैत्री बनोस भन्ने राजु चाहन्छन् ।
'भएका पूर्वाधार भत्काउ त भन्दिन, तर अब बन्न लागेका बाटो, भवन, खेल स्थान अपाङ्ग मैत्री बने सहज हुने थियो,' उनी भन्छन् ।
राजु पारा खेलाडीको खेलकुद जिवन निकै कष्टकर भएको बताउँछन् । अशक्त व्यक्तिका लागि खोलिएका संघ संस्था ब्यक्तिगत स्वार्थमा लिप्त हुँदा खेलाडीले समस्या भोग्नु परेको उनको बुझाई छ ।
प्रेरणादायी सुझाव
उनी शारीरिक रुपमा अशक्त व्यक्तिलाई संकुचित सोच नबनाउन आग्रह गर्छन् ।
'अरुले के सोच्छन् भनेर पिर लिनु हुँदैन । पहिला आफुमा विश्वास हुनु जरुरी छ ।’ उनी भन्छन्, ’एक्लै बसेर अनेक कुरा सोचेर बस्नु आफैलाई कमजोर बनाउनु हो ।’
राजु सामान्य युवा भन्दा शारीरिक रुपमा अशक्त भाई बहिनीहरु हरेक क्षेत्रमा सक्रिय रहेको देखेका छन् । अवसर पाएको खण्डमा अशक्त व्यक्तिले राष्ट्र निर्माणमा धेरै योगदान गर्न सक्ने उनको बुझाई छ ।
‘शारीरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा कोही भन्दा कम छैनौ । खेलकुद क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत अशक्त व्यक्तिले अवसर पाउनुपर्छ । धेरै जनाले यसलाई प्रमाणित समेत गरेका छन् ।’ उनी भन्छन्, ’अशक्त भएपछि धेरै मानिसले आफ्नो जीवन सकिएको महशुस गर्छन् । मैले पनि गरेको थिए, तर यो गलत रहेछ । अहिले यस्तो कुरा मनमा आउँदैन र आउनु दिनु पनि हुँदैन ।’