एजेन्सी । भारतीय कप्तान विराट कोहलीले आफ्नो उपनाम 'चिकु' रहनुको कारण खुलाएका छन् ।
कप्तान विराटले बिहिबार सामाजिक संजाल 'इन्स्टाग्राम' मा इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनसँगको लाईभमा उपनाम रहनुको राज खुलाएका हुन् ।
विराटले 'चिकु' उपनाम उनका पूर्व प्रशिक्षकले दिएको लाईभमा बताए । विराट सानो हुँदा, दिल्लीबाट प्रथम श्रेणीको क्रिकेट खेल्दा उनको प्रशिक्षकले 'चिकु' नामले बोलाएका थिए ।
'मैले मेरो नाम प्रशिक्षकबाट रणजी ट्रफी खेल्दा पाएको हो । त्यो बेला मेरो गाला ठुलो हुने गर्थ्यो,' विराटले इन्स्टाग्राम लाईभमा भने, 'सन् २००७ मा मेरो कपाल सानो थियो । मेरो कान ठुलो थियो । मा त्योबेला जोकर जस्तो देखिन्थे ।'
पिटरसनले आफ्नो उपनामको बारेमा जानकारी दिन आग्रह गर्दा विराटले यसको खुलासा गरेका हुन् ।
'हामीसँग एक जोक्सको किताब थियो । त्यो किताबमा चिकु भन्ने एक खरायो पात्र थियो । त्यसैले मलाई प्रशिक्षकले चिकु भनेर बोलाउनु हुन्थ्यो,' विराटले भने, 'त्यसपछि मलाई सबैले चिकु भनेर बोलाउन थाले ।'
यस्तै उनको यो नाम महेन्द्र सिंह धोनीले चर्चित बनाएको समेत विराटले बताए । धोनीले किपिङ गर्दा आफुलाई चिकु भनेर बोलाउने गरेको कारण सबैले उनलाई चिकु भनेर बोलाउन थालेको उनले लाईभमा बताए ।
'चिकु भारतमा सानो बच्चालाई बोलाउने नाम हो । जब म बाहिर निस्कन्छु, मानिसहरु मलाई पछाडीबाट चिकु चिकु भनेर बोलाउने गर्छन् ,' विराटले थपे, 'कसैले मलाई विराट भनेर बोलाउँदैनन् । कि चिकु भन्छन् कि कोहली ।'