एजेन्सी । पाकिस्तानका पूर्व फास्ट बलर सोएब अख्तरले भारतीय स्पिनर हरभजन सिंहसँग सन् २०११ को आईसीसी विश्वकप क्रिकेटको टिकट मागेको खुलासा भएको छ ।
विश्वकपमा मुख्य स्पिनर रहेका हरभजनले भारतको एक मिडियासँगको अन्तर्वातामा सोएबले विश्वकपको सेमिफाइनल र फाइनलको टिकट मागेको बताएका हुन् ।
अख्तरको परिवार सेमिफाइनल र फाइनल खेल हेर्न आउने भएको कारण सोएबले आफुसँग टिकट मागेको हरभजनले बताए । हरभजनले समेत अख्तरलाई ४ टिकट उपलब्ध गराएका थिए ।
भारतले सेमिफाइनलमा पाकिस्तानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । सेमिफाइनल खेलमा पाकिस्तान २९ रनले पराजित भएको थियो ।
यस्तै अख्तरले हरभजनसँग फाइनलको टिकट समेत मागेको बताए । तर, हरभजनले फाइनलको टिकट भने आफै लिन आग्रह गरेको बताए ।
भारतमा आयोजना भएको विश्वकपमा घरेलु टोली भारतले जितेको थियो । फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।