एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको इच्छा ३० लाख कमाएर राँचीमा शान्त जीवन बिताउन चाहेको खुलासा भएको छ ।
यो खुलासा पूर्व भारतीय ब्याट्सम्यान तथा धोनीका रुममत वसिम जाफरले गरेका हुन् ।
धोनीले एक पटक जाफरलाई क्रिकेट खेलेर ३० लाख रुपैयाँ कमाउन चाहेको बताएको खुलासा गरे ।
'मलाई याद छ जब उनी (धोनी) भारतीय टिममा पहिलो वा दोस्रो वर्षमा खेल्दै गर्दा क्रिकेट खेलेर ३० लाख कमाउन चाहेका थिए ताकी राँचीमा आरामसँग जिउन सकुन्,' जाफरले ट्वीट गरेका छन् ।
जाफरले एक समर्थकको प्रश्नमा यस्तो बताएका हुन् ।
गत वर्ष भएको विश्वकपबाट धोनीले क्रिकेट खेलेको छैनन् । धोनी आईपीएलबाट अन्तराष्ट्रिय क्रिकेटमा फर्किने तयारीमा रहेका छन् ।
तर, विश्वभर त्रासको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण आईपीएल पछि सरेको छ ।
धोनीको कप्तानीमा भारतले सन् २००७ को टी-ट्वान्टी विश्वकप र सन् २०११ को एकदिवसिय विश्वकप जितेको थियो । धोनी भारतको सफल कप्तान तथा विश्वको उत्कृष्ट विकेट किपर मानिन्छन् ।
जाफरले भने गत महिना सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।