एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय महिला क्रिकेटर रिचा घोषले १ लाख भारतीय रुपैयाँ सहयोग गरेकी छिन् ।
राष्ट्रिय क्रिकेट टिमकी सदस्य समेत रहेकी १६ वर्षे घोषले बंगालको मुख्यमन्त्री राहत कोषमा १ लाख सहयोग गरेकी हुन् । घोषका बुबाले आइतबार सिलगुडी जिल्लालाई १ लाखको चेक प्रदान गरेको थियो ।
अलराउन्डर घोषले यसै वर्ष अष्ट्रेलियामा भएको आईसीसी महिला विश्वकपमा भारतको प्रतिनिधि गरेकी थिईन् । उनले विश्वकप अघि अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजबाट डेब्यु गरेकी थिईन् ।
चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा कोरोनाले २५ जनाको मृत्यु भईसकेको छ ।
यस अघि पूर्व क्रिकेटर सचिन तेन्दुलकरले ५० लाख, राष्ट्रिय टोलीका सदस्य सुरेश रैनाले ५२ लाख तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।