एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान तथा पूर्व कप्तान स्टिभ स्मिथको दुई वर्षे कप्तानी प्रतिबन्ध आइतबारबाट सकिएको छ ।
प्रतिबन्ध फुकुवासँगै अब स्मिथले अन्तराष्ट्रिय तथा घरेलु क्रिकेट लिगमा कप्तानी गर्न पाउने भएका छन् ।
सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङको आरोपमा स्मिथलाई अन्तराष्ट्रिय क्रिकेटमा कप्तानी गर्न प्रतिबन्ध गरिएको थियो ।
स्मिथसँगै थप दुई खेलाडीलाई निश्चित समयको लागि क्रिकेट खेल्न प्रतिबन्ध लगाईएको थियो ।
अहिले अष्ट्रेलियाको टेष्ट टिमको कप्तानी टिम पेनेले सम्हाल्दै आएका छन् । यस्तै सिमित ओभरको क्रिकेटमा आरोन फिन्चले कप्तानी गर्ने गरेका छन् ।
यसै वर्ष हुने इण्डियन प्रिमीयर लिग (आईपीएल) मा स्मिथले राजस्थान रोयल्सको कप्तानी गर्ने तयारी रहेको थियो । तर, विश्वभर त्रासको रुपमा फैलिएको कोरोन भाइरसको कारण आईपीएल स्थगित हुने सम्भावना बढेको छ ।
कोरोनकै कारण अन्तराष्ट्रिय क्रिकेट समेत प्रभावित बनेको छ ।